अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने सरल र सहज माध्यमः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ । हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको ध्यान योग शिविरमा बोल्दै प्रदेश प्रमुख भट्टले शरीर र आत्मासँगको जोड नै योग भएकाले हामीलाई आफ्नो अन्तर आत्मासँग जोडिन योगले मद्धत गर्ने बताउनुभयो । ‘आज मानिसहरू अशान्ति, तनाव, अंहकार जस्ता रोगहरूबाट पीडित छन् । यसबाट मुक्तिका लागि ध्यान र योगको आवश्यकता छ । यो हो । योग भनेको जोड हो । ध्यानका लागि कुनै रकम खर्च गर्नुपनि पर्दैन । सम्पूर्ण मानव जातिलाई ध्यान सर्वसुलभ छ ।’ उहाँले भन्नुभयो । ध्यानले आफ्नै आत्मासँग हाम्रो सम्बन्ध गाँसिदिने र त्यसपछि हाम्रो आत्माले हामीलाई मार्गनिर्देशन गर्ने उल्लेख गर्दै उहाँले ध्यान जति गहन हुँदै जान्छ, त्यति नै हामीमा शरीरभाव कम हुँदै जाने र आत्मभाव वृद्धि हुन थाल्ने बताउनुभयो । शरीर, मनको स्वस्थतासँगै जीवनमा सफलताका लागि योग आवश्यक छ । ध्यान गर्दा हाम्रो विचार सन्तुलित हुन्छ । योग शब्द र शारीरिक क्रियालाई मात्र महत्व दिएर योगको मर्म पूरा हुँदैन। योगसँगै ध्यान पनि जोडिने गर्दछ । उहाँले भन्नुभयो – ‘ध्यानले हरेक कुराको मार्गदर्शनको ढोका खुल्न थाल्नेछ । यो हिमालय समर्पण ध्यानयोग संस्कार विश्व चेतनासँग जोडिने एक सरल र सशक्त माध्यमका रुपमा मैले बुझेको छु ।’ सन्तुलित विचारले सन्तुलित व्यक्तित्व निर्माण हुने र जीवनमै सफलता प्राप्त हुनेमा जोड दिँदै भट्टले आयुर्वेदका अनुसार जहाँ शरीर, मन, आत्मा र पर्यावरणबीच सद्भाव रहन्छ, त्यो नै स्वास्थ्य सन्तुलनको स्थिति रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो जीवनको मुक्ति साधना हो । साधना विना कुनैपनि क्षेत्रको सफलता सम्भव छैन । सफलताको लागि कर्म गर्नुपर्दछ । कर्म असल भयो भने मात्र सफलता सम्भव छ ।’ भट्टको भनाई छ । यस संस्थाको आयोजनामा भोलि बिहान पोखरा रंगशालामा जीवन रूपान्तरणको लागि हिमालयन ध्यानयोग अन्र्तमनको शान्तियात्रा २०८१, आत्मिक शुद्धिका लागि निःशुल्क अद्वितीय ध्यान शिविर हुँदै गरेकोमा यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो । हिमालयमा तपस्या गर्नुभएका ऋषिमुनीहरूका परमप्रिय शिष्य, नेपालमा बुद्धत्व प्राप्त गर्नुभएका बुद्ध पुरुष महर्षि श्री शिव कृपानन्द स्वामीजीलाई नेपाल भ्रमण वर्ष २०२० को पर्यटन सद्भावना दूतका रुपमा नेपाल सरकारले नियुक्त गरेको थियो । ४५ वर्ष अघि श्री पशुपतिनाथबाट अध्यात्मिक यात्रा सुरु गर्नुभएका स्वामीजीले रसुवा जिल्लाको हिमाच्छादित गुफामा तपस्या गर्नुभएको थियो । उनै स्वामीजीको सान्निध्यमा जीवन रूपान्तरणको लागि अद्वितीय हिमालयन ध्यानयोग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

बैदिक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोहका बीच आज सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा आयोजित कार्यक्रमको राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष भागवत् भाष्कर कमलनयन गौतमले उद्घाटन गर्नुुभयो । कार्यक्रममा भागवत् भाष्कर गौतमले गुुरुकुलका माध्यमबाट समाजको रुपान्तरणका लागि योगदान गर्न सकिने बताउँदै त्यसतर्फ लाग्नुु जरुरी भएको बताउनुुभयो । पोखरामा हाल नौवटा गुरुकुल सञ्चालनमा आएको बताउँदै उहाँले सबैको सामुहिक प्रयासमा बैदिक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुुभयो । राधाकृष्ण गुुरुकुल लगायत गुरुकुलहरूका समस्या समाधानका लागि आँफू निरन्तर लाग्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । राधाकृष्ण गुरुकुल परिसर नजिकै भैरहेको फोहोर व्यवस्थापनको विषयसँगै यहाँका हरेक समस्याको समाधानमा हातेमालो गर्दै जाने उहाँले बताउनुुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीले गुरुकुल सञ्चालनलाई दीगो र प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुुभयो । राधाकृष्ण मन्दिर शान्ति आश्रमसँगै यससँग जोडिएका गुरुकुल र बृद्धाश्रमको सामुहिक प्रयास आवश्यक हुनेमा उहाँले जोड दिनुुभयो । राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेशबहादुर खत्रीले गुरुकुल सञ्चालनमा लागि वार्षिक २८ लाख रुपैयाँ खर्च हुने गरेको र यसका लागि १८ लाख रुपैयाँ मात्र आउने भएकोले बाँकी १० लाख रुपैयाँको स्रोत जुुटाउन समस्या पर्ने गरेको बताउनुुभयो । महानगरपालिकाले आँफूहरूको बिरोधका बाबजुद पनि राधाकृष्ण मन्दिर परिसर नजिकै फोहोर व्यवस्थापन गर्दा यहाँका अध्ययरत विद्यार्थी, बृद्धाश्रममा बस्दै आउनुुभएका ज्येष्ठ नागरिकका साथै भक्तजन प्रदुुषणको मारमा परिरहेको बताउँदै उहाँले यही फोहोर व्यवस्थापनका नाममा वडामा आएको बजेट यस क्षेत्रका लागि एक रुपैयाँ पनि विनियोजन नभएकोमा दुुःखेसो गर्नुुभयो । वडा सुदस्य तीर्थबहादुर सुुयाँलले राधाकृष्ण मन्दिर, गुरुकुल तथा विद्यालयको सहयोगका लागि वडा प्रतिवद्ध भएको बताउँदै गुरुकुलमा शौचालय निर्माणको काम चाँडै नै सुरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले यहाँस्थित राधाकृष्ण मन्दिर, गुरुकुल र बृद्धाश्रमको एकतावद्ध प्रयास बढाउँदै यसलाई विशिष्ट धार्मिक एवम् शैक्षिक गन्तव्यका रुपमा विकास गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्यायले विद्यालयको शैक्षिक एवम् आर्थिक अवस्था लगायतका विषयमा प्रकाश पार्नुुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्रप्रसाद रेग्मीको अध्यक्षता एवम् सहायक प्रधानाध्यापक प्रविण पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका उपाध्यक्ष झलकप्रसाद खनाल, विद्यालयका शिक्षक दामोदर गौतम, माधवशरण उपाध्याय, विद्यार्थीहरू अमर घिमिरे, संदिप सापकोटा, अनिश दहाल लगायतले बोल्नुुभएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि अक्षयकोष स्वरुप स्व.मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १११ रुपैयाँ, भगवती पन्तले ५२ हजार ५५ रुपैयाँ, खगराज अधिकारीले ३७ हजार रुपैयाँ, वासुदेव दाशी तिवारीले ५० हजार रुपैयाँ, दीव्यरमण अर्यालले १५ हजार पाँच रुपैयाँ, सूूर्यमणि सुवेदीले १५ हजार पाँच रुपैयाँ, विष्णुुमाया पण्डितले १५ हजार १५५ रुपैयाँ, गोविन्दप्रसाद पगेनीले ११ हजार १११ रुपैयाँ अक्षयकोष रकम हस्तान्तरण गर्नुुभएको थियो । कार्यक्रमकै अवसरमा गुरुकुलबाट एसइई उत्तीर्ण विद्यार्थीहरू सन्दीप पौडेल, अंकित पौडेल, अभिषेक आचार्य, सुशिल खनाल, कृष्ण घिमिरे र रुपेश हुमागाईलाई सम्मान गरिएको थियो । त्यस्तै गोविन्दप्रसाद कोइरालाद्वारा स्थापित छात्रबृत्ति अक्षयकोषबाट छात्रबृत्तिमा पर्न सफल विद्यार्थीहरू कक्षा ६ देखि १० सम्म क्रमशः सुदीप रेग्मी, नीराजन दहाल, किस्मत रिजाल, रोहित शर्मा र सन्दीप सापकोटालाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव समारोहमा विभिन्न सहयोग गर्ने विवस बस्नेत, विनिता पण्डित घिमिरे, कृष्णबहादुर विक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले रचना गर्नुुभएको नेपाली हाम्रो श्रम र सीप कविता वाचन गरेका थिए भने विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै २०८० को वार्षिक परीक्षामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः कक्षा ७ का नीराजन दाहाल, अजय घिमिरे र सुशान्त मरासिनी, कक्षा ८ का कीस्मत रिजाल, आशिष सापकोटा, र प्रहार दाहाल, कक्षा ९ का रोहित शर्मा, सन्दीप शर्मा र अमर घिमीरे, कक्षा १० का अनीष दाहाल, सन्दीप सापकोटा र गौरव अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

पोखरा ढुङगेसाँघुमा हुने कोटिहोमको लागि प्रमुख बाचक अमेरिकाबाट आए  

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरि तयारी अवस्थामा राखिएको छ । भने मन्दिरमा रंगरोगर र ध्वजापतकाले सजाइएको धामका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोमका प्रमुख बाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आइसकेका छन् । अमेरिकामा बस्दै आएका प्रमुख बाचक ढकाल शनिबार पोखरा आइपुगेका हुन्् । ढकालको स्वागतमा अन्नपूर्णेश्वर शिवालय शिवशतिक्त धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भब्य स्वागत गरिएको छ । विमानस्थलबाट पोखरा १५ कोलपाटनमा रहेको राधेराधे मन्दिरमा विशेष पुजा अर्चनामा सहभागि भए लगत्तै बाचक ढकाललाई बाजागाजाहित कोटिहोम स्थल धाममा पुर्याइएको समितिका सचिव कमला बरालले जानकारी दिइन् । यज्ञ स्थलको निरिक्षण पछि ढकालले समितिका पदाधिकारी स्थानीयलाई विशेष निर्देशन दिदैँ हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न भने ।  बहुसाँस्कृतिक ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हरिहर क्षेत्र, पुण्यभूमिलाई साँस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गदैँ पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ढकालले बताए । बाचक ढकालको स्वागतमा कोटिहोम स्थालमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै पोखरा महानगर वडानम्बर १५ का वडासदस्य बलराम पौडेलले कोटिहोमलाई सफल बनाउन वडानले सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकासमा समेत प्रयोग गर्न सकिने पौडेलले बताए । धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । कोटिहोममा कथा बाचनका लागि १५ भन्दा बढि धर्म गुरु आउने आयोजकले जनाएको छ ।

पोखराकाे माउन्ट अन्नपूर्णमा खेलकुद प्रतियोगिता सम्पन्न

पाेखरा ।  पोखरा नदीपुर स्थित यस क्षेत्रकै पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण मा. वि.मा कक्षा ११ र १२का विद्यार्थीबिच  तीन दिन सम्म स‌ञ्चालन भएकाे खेलकुद प्रतियाेगिता  सम्पन्न भएको छ। छात्र छात्राबिच भएकाे भलिबल तथा बास्केटबल प्रतियोगितामा   छात्र भलिबलतर्फ कुल ६ टिमको सहभागिता थियो भने छात्रा तर्फ ५ समुहको सहभागिता रह्यो। छात्र भलिबल तर्फ निशान मल्लको समूह प्रथम तथा अङ्कित गर्बुजाको समूहले द्वित्तीय स्थान हासिल गरेको थियो।यसै गरी छात्रा भलिबल तर्फ भूमिका गुरुङको समूह प्रथम र रक्षा तिलिजाको समूहले द्वित्तीय स्थान हासिल गरेको थियो।   छात्र बास्केटबल तर्फ सुरज नेवाङको समूह प्रथम र छात्रा बास्केटबल तर्फ एड्रिना गुरुङको समूहले प्रथम स्थान हासिल गरेको थियो। सो अवसरमा प्रमुख अतिथिको तर्फबाट नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले विद्यालयमा हुने यस्ता प्रतियोगिताहरुले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका साथै खेलकुदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन सकिने विषयको उठान गर्नुभयो । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, शैक्षिक निर्देशक अशोक शाही, विद्यालयका प्रशासक चित्र गुरुङले खेलकुदबाट अनुशासन, सामुहिक सहकार्य, स्वास्थ्य जीवनशैलीमा मद्दत पुग्ने बिचार व्यक्त गर्नुभयो। विद्यालयका गेम्स तथा स्पोर्ट अध्यक्ष सृष्टि थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  क्लबका उपाध्यक्ष एड्रिना गुरुङले स्वागत मन्तब्य गर्नुभयो भने कार्यक्रम क्लबका सचिव सिजन नेपालीले सञ्चालन गर्नुभयो।