चाँडपर्वको अवसरमा सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु
पोखरा । पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा चाँडपर्वलक्षित मिनी मेला आयोजना गरिएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वर्त तथा छठ पर्वको पावन अवसरमा सर्वेश्वर व्यवसायी समितिको आयोजनामा होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा मिनी मेला शुरु भएको हो ।
असोज १७ गतेदेखि शुरु भएको मिनी मेला चाँडपर्व भरी जारी रहने सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले जानकारी दिए । मेला हरेक दिन साँझ ५ बजेदेखि शुरु भई राती ८ बजेसम्म जारी रहने उनले बताए । मेलाको समयमा व्यवसायीले आफ्ना सामानहरु आफ्नो पसल अगाडि राखेर सजाउने छन् । तर अन्य व्यवसायीलाई असर नपर्नेगरी सामान राखिने अध्यक्ष थापाको भनाई छ ।
मिनी मेलाको अवसरमा सर्वेश्वर मार्ग र पराजुली मार्ग भित्रका जुनसुकै पसलहरुमा भारी छुटका साथ सामानहरु बिक्री गरिने समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए । ‘ग्राहकले सामान सस्तो पाओस् अनि व्यवसायीले स्टक सामान कटाओस् भन्ने उद्देश्य हो हाम्रो’–उनले भने ।
दसैँ उत्सवमा किनमेल गर्ने ग्राहकका लागि बम्पर उपहार योजना सञ्चालन गरिएको छ । सो बजारमा सामान खरिदमा कुपन दिइने गरिएको छ । चाडपर्व सकिएपश्चात् चिट्ठा खोलिने योजना रहेको अध्यक्ष थापाले बताए । बम्पर उपहारमा स्कुटर, साइकल, ल्यापटप, मोबाइल र ४ जनालाई ५÷५ हजार सान्त्वना स्वरूप दिईने जनाइएको छ ।
सर्वेश्वर र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामान, फेन्सी तथा रेडिमेड सामान, श्रृंगारका सम्पूर्ण सामान, काँचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामान थोक तथा खुद्रा मूल्यमा पाईन्छ ।
होलसेल तथा खुद्रा दुवै व्यापार हुने यी दुई मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुमसम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको वरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।
पोखरा -नवलपुर सम्पर्क समाजमा ईश्वर श्रेष्ठकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन
पाेखरा । पोखरा -नवलपुर सम्पर्क समाजको अध्यक्षमा ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् । समाजको बिहिबार सम्पन्न दाेस्रेा साधारणसभा तथा प्रथम अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी उपाध्यक्षमा मणि प्रसाद डुम्रे , मिन बहादुर भण्डारी , सचिवमा शिब प्रसाद न्याैपाने ,कोषाध्यक्षमा पूर्णकला रिजाल सहसचिवमा तारा प्रसाद श्रेष्ठ रहेका छन् , सदस्यहरुमा बाल प्रसाद श्रेष्ठ ,टकमाया रानामगर , शान्ति पाण्डे चालिसे , शुशिला देबि भण्डारी , निर्मला बास्ताकाेटि सर्वसम्मत चयन भएका छन्। उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा नवलपुर सम्पर्क समाजका सल्लाहकार डा. पदम श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरेर सुरु भएको थियो।
कार्यक्रममा बोल्दै श्रेष्ठले“ नवलपुरबाट अस्थाई वा स्थाई रुपमा पोखरा बसोबास गर्दै आएका व्यक्तीहरुको सुख र दुःखमा साथ दिने उचित कार्यलाई हौसला प्रदान गर्ने र नराम्रा कार्यलाई खबरदारी गर्ने साझा संस्था रहेको बताएका थिए। यो समाज नितान्त समाज र सामाजिक दायित्व बोकेर अगाडि बढ्ने जानकारी समेत दिएका थिए। कुनै पनि सल्लाह तथा सहयोगको लागी आफू अग्रसर समेत रहेको बताए। उनले आफूले विगतदेखि नै नियालीरहेको भन्दै आगामी थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमकाे बिशिष्ट अतिथि गडपति माईक्रफाईनान्सका सिईअाे बिष्णु ढकालले नवलपुरबासिलाई परेको प्रत्येक दुःखमा साथ दिन आफू तयार रहेको स्पष्ट पारे । त्यसै गरी ई.ओम शर्माले यो संस्था मात्र एउटा राजनैतिक नभई सामाजिक भावना र भाइचारा सद्भावको लागि बनाइएको संगठन भएको हुँदा आफ्नो व्यक्तीगत स्वार्थलाई त्यागी सामाजिक कार्यक्रममा जुट्न नव मनोनित सदस्यहरुलाई आग्रह गरेका थिए।
निर्वाचित अध्यक्ष ईश्वर श्रेष्ठले पोखरा नवलपुर सम्पर्क समाजका सदस्यहरुलाई आफूलाई विश्वास गरि सर्वसम्मत गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यसमितिलाई आफूले एकताबद्ध बनाएर समाजको प्रगतिको लागि सदैब अग्रसर रही काम गर्ने बताएका थिए।
दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो
पाेखरा ।यसवर्ष च्याङग्राको मूल्य घट्यो दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए । ‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,’ उनले भने, ‘गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४० हजार भन्दा कम हुन्छ ।’ गतवर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए।
छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५० च्याङग्रा बिक्री गर्न पोखरा लैजानका लागि शुक्रबार म्याग्दीको घोडेपानी पुग्नुभएको छ । मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दसैं तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमख लालमणी अर्यालका अनुसार बुधबार सम्म सात हजार च्याङग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन्। यसवर्ष दसैंका लागि मुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए । विसं २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।
बडादसैँ आजदेखि सुरु , घटस्थापनाको साइत ९ः१६ बजे
पाेखरा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन्। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत ९ः१६ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
दुर्गादेवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भु, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ ।