गण्डकीमा मन्त्रालयको    सङ्ख्या  बढाउन नहुने अडानमा एमाले

 

 पाेखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको सङ्केत थियो । केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बित्दा समेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता समेत रहनुभएका अधिकारीले संवाद भने भैरहेको खुलाउनुभएको हो । उहाँले वर्तमान मुख्यमन्त्रीले भनेझैँ मन्त्रालयको सङ्ख्या बढाउन त्यति सजिलो भने नरहेको दावी गर्नुभयो ।

अर्को प्रसङ्गमा अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उहाँको भनाई थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उहाँको भनाई थियो । एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पुरा गर्नको लागि सबैले मिहेनत गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारले राम्रो काम गर्नुपर्‍यो, भष्ट्राचार रोक्नुपर्‍यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन’ उहाँले भन्नुभयो । दुई प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माण भएपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उहाँको दावी थियो । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पुर्‍याउनको लागि नेता तथा कार्यकर्तालाई खट्न उहाँको आग्रह थियो । ‘०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रिय सभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवाद तर्फ यात्रामा जान सक्छौ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रादेशिक संवृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चा समेत गरिएको थियो । यसको प्रस्तुती गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष एवं वागमती प्रदेशका सासंद डा.दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको सङ्ख्या बढेको बताउनुभयो । देशको विकासमा विभिन्न चुनौतीहरु रहेकोले ती चुनौतीालाई चिर्दे अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल बुद्धिजीवी परिषद गण्डकीका अध्यक्ष प्रा.डा.चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज दाहाल, सञ्चालन सचिव बाबुराम केसीले गर्नुभएको थियो । कमिटीद्वारा प्रकाशित स्मारिका गण्डकी दर्पणको समीक्षा राधाकृष्ण लामिछानेले गरेको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी र नेकपा एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले समेत बोल्नुभएको थियो ।

 

बाँदरकाे प्रकोप कम गर्न बाँदरले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड

पाेखरा । ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।
सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममाबक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए ।
ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुुभयो ।
ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
बाँदर प्रकोपको विकल्पमा कागती, खुुर्सानी, अदुुवा जस्ता विभिन्न बैकल्पिक खेती गर्न सकिने बताउँदै उहाँले ती खेतीको प्रविधि बारे चर्चा गर्नुुभयो ।
उहाँले बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतको कानुुनी व्यवस्था बारे जानकारी गराउनुुभयो ।
सिड फाउन्डेशन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदर प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुुरुङले बाँदर तर्साउने बन्दुक बारे जानकारी गराउनुुभएको थियो । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं रेडियो नेपाल कास्की सम्वाददाता कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो खेती ,ुसिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुुझाव दिनुुभयो ।
उक्त अवसरमा सहभागीले बाँदरका कारण पर्ने गरेका समस्या बारे आ आफ्ना धारणा राख्नुुभएको थियो ।

मानव अधिकार पालनका लागि सबै पक्ष जिम्मेवार रहनुुपर्नेमा प्रदेश प्रमुख भट्टकाे जाेड

पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभयो ।  टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो ।
‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’
उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उहाँको भनाई छ ।
टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

तालचोक बेगनास सडक निर्माणका क्रममा देखिएका विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी

  पाेखरा । निर्माणाधीन तालचोक बेगनास सडकमा देखिएका समस्याहरूको बारेमा स्थानीय सरोकारवालाहरूसँग छलफल गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सम्पन्न छलफलमा सडक निर्माणका क्रममा देखिएका समस्या र विवादहरू एक साता भित्र समाधान गर्ने समझदारी भएको छ।
हाल उक्त सडकका चार स्थानमा समस्या देखिएको छ । शिशुवाचोक नजिकै ६० मिटर लम्बाइमा राइट अफ वे, शिशुवा चोक स्थित राइट अफ वे भित्र रहेको पुरानो घर विस्थापन गर्नु पर्ने, देउराली खोलामा बन्ने पुलको उचाइ र त्रिकाङचोकदेखि तल सेन्टर लाइन र राइट अफ वेको समस्या रहेको पाइएको छ ।
यी समस्याहरूको समाधानमा लागि आवश्यक समन्वयका लागि नगर प्रमुख आचार्य, महनागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गा सुवेदी र वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, योजनाका फोकल पर्सन इ.नवीन गौतम लगायत रहने गरी एक विवाद समाधान समिति गठन गरिएको छ ।
उक्त समितिले विवादहरूको समाधान गरी निर्माण कार्यमा आवश्यक सहजिकरण गर्नेछ । नगर प्रमुख आचार्यले महानगरको गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनाको म्याद अब धेरै नरहेकाले समयमा नै सम्पन्न गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । विश्व बैकको सहयोगमा निर्माण भइरहेको उक्त आयोजना निर्माणमा विलम्ब हुँदा त्यस क्षेत्रका नागरिकहरूले सास्ती खेप्नु परेको उहाँले बताउनुभयो ।
आयोजनाका कारण स्थानीय उपभोक्ताहरूलाई परेको समस्याहरू माथि खुला छलफल गर्न महानगरपालिका तयार रहेको बताउँदै उहाँले अल्पकालीन भन्दा पनि यसको दीर्घकालीन फाइदाहरूका बारेमा सोच्न आग्रह गर्नुभयो ।
आयोजना स्वच्छन्द सपना वल्डवाइड जेभिले निर्माणको ठेक्का पाएको छ ।