पाचौं हेमजा हिले महोत्सव–२०८२ को लागि   सरसफाइ कार्यक्रम

हेमजा । पोखरा–२५,हेमजामा अवस्थित देवीस्थान सेवा समाजले शनिवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ समाजको आयोजनमा  यही असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सव–२०८२ को पूर्व तयारी तालिका अनुरूप  सरसफाइ कार्यक्रम गरिएको हो  । हेमजामा अवस्थित विभिन्न टोल विकास संस्था, आमा समूह,लगायत  संघ संस्था तथा स्थानीयहरूको सहभागितामा महोत्सव स्थल क्षेत्रमा पर्ने विष्णुपादुका टोल,विष्णुपादुका मन्दिर परिसरमा  शनिवार सरसफाइ गरिएको हो  । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न, आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन, हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । समाजका निवर्तमान अध्यक्ष गुरु हरिशरण पौडेलले महोत्सवले विन्दवासिनीकी बहिनीका रूपमा मानिँदै आएको विष्णुपादुका भगवतीको महिमा बढ्नुका साथै   हेमजाका कृषकहरूलाई कृषिमा प्रोत्साहन बढाउने आफूहरूको विश्वास रहेको बताए । महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैँटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन । प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागी व्यक्ति र टिमलाई पुरस्कारको व्यवस्था गरेको छ ।  प्रतियोगितालाई सभ्य, व्यवस्थित र मर्यादित बनाउनका लागि केही खेलमा सहभागी शुल्क समेत राखेको खेल सञ्चालन उपसमिति संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए । महोत्सवलाई सफल बनाउनका लागि  समाजका उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनमा समुदायको सहयोग आवश्यक

  लेखनाथ ।   लेखनाथ उद्योग वाणिज्य संघद्वारा नेपाल प्रदेश राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालाई शुक्रवार विशेष सम्मान गरिएको छ ।
संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य दिँदै समाजमा कानुन र सुरक्षा व्यवस्थाको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले ट्राफिक सुरक्षाको सुदृढीकरणका लागि प्रहरी प्रशासन र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
प्रमुख अतिथि प्रहरी उपरीक्षक दानबहादुर थापाले राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनमा समुदायको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले भने, “राजमार्ग दुर्घटना न्यूनीकरण गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त हुँदैन । नागरिक, व्यवसायी, चालक र सम्पूर्ण समुदायको साझा जिम्मेवारी र सचेत सहभागिता अत्यावश्यक छ ।” थापाले प्रहरी प्रशासन जनमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूले सरोकारवालाबीचको समन्वय र विश्वास सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी सदस्यहरूले राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन तथा ब्यवसायी क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । प्रमुख अतिथि थापाले सो अवसरमा सहभागीहरूको प्रश्नको जवाफ दिँदै ट्राफिक दुर्घटनामा कमी ल्याउन प्रहरी प्रशासनको पहल र नागरिक सहयोग दुवै महत्वपूर्ण हुने बताए ।
कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने, स्वागत मन्तव्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले प्रस्तुत गरे ।  धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरे।
कार्यक्रममा संघका पदाधिकारी, सदस्य, व्यवसायी तथा सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बुटबल र पोखराका व्यवसायीविच आपसी सहकार्यमा जोड

पोखरा ।  जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो । होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार बुटबलमा आयोजित कार्यक्रममा ब्यबसायी र संचारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ घण्टा खुलाउने पहल आफू कास्की हुँदा भएको समरण गराए । लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए । आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य लक्ष्य अभियानले लिएको संयोजक एबं आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । दुई दशक अघि देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्बी नेपालमा सम्पन्न भएको थियो । विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन सक्छन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुबेदीले बताए । हानका केन्द्रीय सदस्य एबं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे । पोखरा विमानस्थलको उचित संचालनमा सरकार गंभीर हुनुपर्ने भनाई उनले राखे । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन भएको हो । पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियानको अर्को उद्देश्य हो । साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियान सार्थक हुने संघले विश्वास गरेको छ ।  बिहीबार सुरु भई असार दुई गते सकिने यस पटकको  जाउँ है पोखरा अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि संचालन हुने छ । बुटवलमा आयोजित कार्यक्रममा हानका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल राना, होटल ब्यबसायी महासंघका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डे लगायतले भनाई राखेका थिए । यसअघि पाल्पाको श्रीनगरमा बिहीबार आयोजित कार्यक्रममा अभियानको टोलीलाई स्वागत गर्दै पाल्पाले पोखराबाट धेरै सिक्न बाँकी रहेको स्थानीय ब्यबसायीले बताएका थिए । पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटि (ट्याक्ट) ले यो कार्यक्रम आयोजना गरेका थिए । पाल्पा हानका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रबद्र्धनका गतिविधिमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राखे । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धानिन सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढ्न पोखराको साथ रहने विश्वास दिलाए । कार्यक्रममा ट्याक्टका संयोजक एबं तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन र पाल्पा होटल संघका उपाध्यक्ष लक्ष्मण बस्यालले पनि भनाई राखेका थिए ।

पोखरामा जारी  कोटीहोम एक सय एक हवन कुण्डमा भइरहेका हवन आज समापन हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ ।
योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि सोमबार नै समापन हुनेछ ।
आइतबार पनि कोटीहोममा करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
आइतबार चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी भए ।
शनिबार २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भइका थिए । हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।
कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।
कोटीहोममा हालसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियो्गिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
आज एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो, जसअन्तर्गत विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर बिजय कृष्णमूर्ति महाराजबाट सम्मान प्रदान गरिएको छ।
“धर्मले कहिल्यै विभाजन सिकाउँदैन। हाम्रो संस्कृतिले सबैलाई अँगाल्ने शिक्षा दिएको छ,” महाराजले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो। उहाँको यो सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ।
सामाजिक समरसता, समानता र धार्मिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाराजले दलित समुदायको योगदानप्रति कृतज्ञता प्रकट गर्दै, समाजमा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।