प्याराग्लाइडिङ ः विश्व कपको तयारी पूरा

१४ कार्तिक २०७५, बुधबार

 

 भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिने बताइएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जिल्ला समन्वय समितिका उपप्रमुख एवं प्रतियोगिता अनुगमन समितिका संयोजक दिलीपकुमार बगालेले बताउनुभयो । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा सम्पन्न हुनेछ । यही कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्वरेक मैदानमा उद्घाटन र डौवा फाँटमा समापन गरिनेछ ।

Leave a Reply