अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ

२२ आश्विन २०७५, सोमबार

काठमाडौं । अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ देखिएको छ । पछिल्लो समय चीनको प्रभाव बढ्दो क्रममा रहेका उक्त मुलुहरुमा अमेरिकाले आँखा लगाएको हो । पछिल्ला केही कदमले अमेरिका कूटनीतिमा कमजोर बन्दै गएको अवस्थामा उसले आफ्ना शीर्ष राजनीतिक अधिकारलाई उक्त दुई मुलुकको भ्रमणमा पठाउने निर्णयमा पुगेको हो ।
अमेरिकी अधिकारीले आइतबार दिएको दिएको जानकारीअनुसार अक्टोबर ९ देखि ११ सम्म दक्षिण एर्व मध्य एसियाली मामिला ब्युरोकी उप सहायकमन्त्री एलिस वेल्सले माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्न लागेकी हुन् । समाचारमा बताइएअनुसार श्रीलंका र माल्दिभ्सको भ्रमणको क्रममा द्विपक्षीय साझेदारी तथा साझा हितको विषयमा छलफल हुने बताइएको छ ।
वेल्सले मालेमा केही समयअघि मात्र भएको निर्वाचनमा जित हासिल गरेका इब्राहिम मोहम्मद सोलिह र सिभिल सोसाइटीका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । माल्दिभ्समा केही समयअघि मात्र भएको निर्वाचनमा चीननिकट मानिने अब्दुल्लाह यामिनको हारसँगै अमेरिकाले आफ्नो विशेष दूत माल्दिभ्स पठाउन लागेको हो । वेल्सले श्रीलंका भ्रमणको क्रममा पनि वरिष्ठ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकाकी अधिकारीको उक्त दुई मुलुकको भ्रमणको क्रममा भारत–प्रशान्त क्षेत्रमा साझा लक्ष्यको विषयमा छलफल हुने बताइएको छ । अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार उक्त दुई मुलुकहरुको सम्बन्धमा सुधारको लागि पनि यो भ्रमण निकै महत्वपूर्ण हुनसक्ने देखिएको छ । चीनको प्रभाव श्रीलंका र माल्दिभ्समा व्यापक मात्रामा व्यापक मात्रामा बढिरहेको कारण त्यसलाई रोक्नका लागि अमेरिका अघि बढिरहेको हो ।
केही वर्षअघि भारतको उपस्थिति बलियो रहेका उक्त मुलुकहरुमा चीनको बढ्दो प्रभावसँगै अमेरिका चीनसँग सशंकित देखिएको हो । त्यसका साथै भारतसँगको चिसिँदो सम्बन्धको कारण पनि आफ्नो भारत–प्रशान्त क्षेत्रको योजनालाई अघि बढाउनका लागि साना मुलुकहरुलाई हातमा लिने अमेरिकाको प्रयास हुनसक्छ ।
भारत र चीनको लागि पनि यी दुई मुलुकहरुसँगको सम्बन्ध निकै महत्वपूर्ण रहेको छ । व्यापारिक तथा आफ्नो प्रभाव विस्तारको हिसाबमा यी मुलुकहरुमा आफ्नो उपस्थिति दुवै मुलुकका लागि महत्वपूर्ण मानिन्छ । यस्तोमा भारत र चीन सो क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि लामो समयदेखि संघर्ष गरिरहेका छन् ।
यस्तोमा अमेरिकाले उक्त मुलुकहरुमा आफ्नो प्रभाव विस्तारको लागि आँखा लगाउनुलाई यी दुई मुलुकहरुले कसरी लिने हुन् भन्ने हेर्न बाँकी छ ।

Leave a Reply