नेपाल दोस्रो चरणमा

२७ कार्तिक २०७५, मंगलवार

 

ओलम्पिक महिला फुटबलको एसियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो ।

समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट २ टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो ।

म्यानमारको याङ्गोनस्थित थुनुवा रङ्गशालामा नेपालले १७ औँ मिनेटमा कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो तर दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनुपर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा बङ्गलादेशकी अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । भिएतानाम र उज्जेकिस्तान फिफा बरियताका आधारमा दोस्रो चरणका लागि छनोट भइसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ ।

दोस्रो चरण छनोटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टोली ओलम्पिकका लागि छानिनेछन् ।

दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मार प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेख खलेको थियो न नेलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

नेपालले चीनमा रहँदा नेपालले कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खलेको थियो । जसमा बेइजिङ फोनिक्ससँगको दुवै खेलमा पराजित भएको थियो भने बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई पराजित गरेको थियो ।

नेपाली टोलीमा गोलकिपरम एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

Leave a Reply