कांग्रेसको विधानमा ‘गुट’ कचकच

५ मंसिर २०७५, बुधबार

सुभद्रा जोशी,

काठमाडौं। मुलुकको नयाँ संरचना अनुसार केन्द्र देखि मतदान केन्द्रसम्मको संरचनाको विधान तयार गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान समितिमा गुटगत किचलो पार्टीमा जस्तै छ।समितिले विधानको खाका तयार गर्ने अधिकार पाएको भएपनि विधान बनाउँने क्रममा पार्टीको गुट हावी हुँदा के कस्तो प्रावधान राख्ने भन्नेमा किचलो देखिएको छ।

हाल कांग्रेस भित्र विधानमा सभापतिको अधिकार, पदाधिकारी संख्या, निर्वाचन पद्धती, संसदीय (बोर्ड) समितिको चयन प्रक्रिया, सदस्यता वितरण प्रक्रिया र विशेष अवस्थाको व्याख्याका विषयमा मूल विवाद रहँदै आएको छ। सभापति शेरबहादुर देउवा निकट नेताहरु विधानमा सभापतिलाई बलियो बनाउँने गरि पदाधिकारी संख्या बढाउँने र केही पदाधिकारी निर्वाचन मार्फत र केही मनोनित गर्ने गरि विधानमा व्यवस्था गर्ने पक्षमा छन।

यस्तै संस्थापन इतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेता कृष्णप्रसाद सिटौला समूह भने निर्वाचन प्रक्रिया मार्फत नै पार्टीका सबै पदाधिकारी चयन गर्नु पर्ने पक्षमा छन। विधान समितिका प्रवक्ता समेत रहेका नेता रमेश लेखकले विधानमा गरिने व्यवस्थाका विषयमा समिति भित्र केही असमझदारी रहेको जनाए। ‘विधानका केही प्रावधानमाथी केही साथीहरुको फरक मत आएका छन, छलफल हुँदैछ, निर्वाचन प्रक्रिया र संसदीय समितिको चयनका विषयमा केही फरक धारणा देखिएको छ,’ नेता लेखकले भने।

विधान समितिका सदस्य नेता प्रदिप पौडेलले पदाधिकारी संख्या, सभापतिले मनोनित गर्ने संख्या, संसदीय समिति तथा विशेष अवस्थाको व्याख्याका विषयमा कुरा नमिलेको जनाए।  ‘पदाधिकारी संख्या, सभापतिले मनोनित गर्ने संख्या, संसदीय समिति सहित विशेष अवस्थाको व्याख्याबारे कुरा मिल्न बाँकी छ,’ नेता पौडेलले भने। तर केन्द्रिय समितिको आकारका विषयमा भने लगभग सहमती जुटीसकेको उनले जानकारी दिए। जसअनुसार कांग्रेस केन्द्रिय समिति १ सय २५ सदस्सीय हुने लगभग टुंगिएको छ।

कांग्रेस भित्रको संस्थापन पक्ष संसदिय समिति समेत मनोनित गर्ने गरी विधानमा व्यवस्था गर्ने पक्षमा छ भने इतर पक्ष संसदीय समिति निर्वाचनको टिकट बाड्ने समिति भएकाले महत्वपूर्ण हुने भन्दै निर्वाचन प्रक्रिया मार्फत नै चयन गर्ने गरि विधानमा व्यवस्था गरिनु पर्ने पक्षमा छ। नेता लेखकले सभापतिलाई कमजोर बनाएर विधान बनाउँदा पार्टी कमजोर हुने भन्दै सभापतिलाई अधिनायकवादी समेत हुन नदिने गरी विधान बनाइने जनाए।

विधान समितिले विधानका लागि भन्दै मुलुकको सातै प्रदेशका १२ विभिन्न स्थानमा आफ्ना प्रदेश र जिल्ला स्तरका नेताहरुसँग विधानबारे राय समेत लिएको थियो। यस्तै विधान मस्यौदाको खाका तयार गर्दै विभिन्न तीन उपसमितिले आआफ्नो प्रतिवेदन मूल समितिलाई बुझाइसकेका छन। सो उपसमितिले नयाँ विधानमा वरिष्ठ नेता सहित पदाधिकारी संख्या १० जना रहने गरी प्रस्ताव गरेको थियो। तर निर्वाचित र मनोनित पदबारे भने तय भएको छैन।

यसैगरी पार्टीको केन्द्रिय समिति पनि १ सय २१ देखि १ सय ३१ सम्म रहने गरी प्रस्ताव गरिएको थियो। हाल कांग्रेस केन्द्रिय समिति ८५ सदस्सीय छ। पार्टीको संरचना समेत मतदान केन्द्र कमिटि देखि केन्द्रिय समितिसम्म गरी आठ तह प्रस्ताव गरिएको छ। सबै भन्दा तल्लो तहमा मतदान केन्द्र कमिटी, गाउँपालिका नगरपालिका वडा कमिटी, स्थानीय तह कार्यसमिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रादेशिक कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी नयाँ खाका तयार गरिएको हो।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान समितिले पार्टीको संरचना, कार्यविभाजन र आन्तरिक व्यस्थापनसँग सम्बन्धित विधान बनाउन तीन उपसमिति गठन गरेको थियो। मूल समितिले अन्तिम मस्यौदा तयार गरेर पार्टीमा पेश गर्ने र त्यसपछि आगामी २८ मंसिर देखि ३ पुससम्म हुने महासमिति बैठकले विधानलाई पारित गर्नु पर्छ। त्यसपछि मात्रै कांग्रेस संविधानले तय गरेको संरचनामा रूपान्तनरण हुनेछ।

BY Hamra kura .com

Leave a Reply