गुट र उपगुटको पछि लाग्दा पार्टीको संगठन कमजोर भएको वडा सभापतिहरुको निष्कर्ष

0
769

 

पोखरा ,नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ का वडा सभापतिहरुको भेलाले गुट र उपगुटको पछि लाग्दा पार्टीको संगठन कमजोर भएको निष्कर्ष निकालेको छ । मट्टिखानमा दुई दिनसम्म भएको भेलामा वडा सभापतिहरुले पार्टीलाई गुट उपगुटबाट बाहिर राखेर पार्टीलाई चुस्त दुरुस्त बनाउने र संगठन परिचालनमा जोड दिने निर्णय समेत गरेका छन । भेलालाई सम्बोधन गर्दे कास्की क्षेत्र नं २ का क्षेत्रीय सभापतिहरु माधवप्रसाद बास्तोला ‘मधु’ र विजयराज आचार्यले गुट र उपगुटको पछि लाग्दा पार्टीको संगठन कमजोर भएको भन्दै, पार्टी विधान अनुसार संगठन निर्माण र परिचालन गरि भएका कमीकमजोरी सुधार गरि जनपक्षीय हिसावले पार्टी सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रतिपक्षी पार्टीले जितेका स्थानीय तह र निर्वाचन क्षेत्रमा अनुगमनको भूमिकामा काम गर्ने र गलत कामको पर्दाफास गर्ने निर्णय पनि क्षेत्रीय भेलामा गरिएको वडा नम्बर ७ का सभापति नवीन बरालले जानकारी दिए ।
‘केही नेताको पछि लाग्दा पार्टी संगठन कमजोर भैरहेको छ । भ्रातृ संगठनहरु पनि चुस्त रुपमा काम गर्न सकेका छैनन, उनले भने–आगामी दिनमा पूराना सबै कमजोरी केलाउँदै नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको छ । यसले पार्टीलाई पुर्नजीवन दिने अपेक्षा गरेका छौं ।’ उनका अनुसार क्षेत्रभित्रका सबै इकाईमा कार्यकर्ता भेला र अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने भेलाले निर्णय गरेको छ ।
भेलामा वडा नम्बर ४ का सभापति गोविन्द पराजुली, ७ का नवीन बराल, ८ का सुवास सिग्देल, ९ का उमा ठकुरी, ११ का मोहन बास्तोला, १७ का देवराज आचार्य, २० का तिलबहादुर गुरुङ, २१ का केवल गिरी र ३३ का दिनेशराज आचार्य सहभागी रहेको वडा नं ९ का सभापति उमा ठकुरीले जानकारी दिइन ।