आफ्नै मालिकाको ८ वर्षीय छोराको अपहरण गरी हत्या

१३ मंसिर २०७५, बिहीबार

 

गाडी चलाउन राखेकै व्यक्तिबाट आफ्नो सन्तानको हत्या होला भनेर प्रविण कुवरले कहिल्यै सोचेका थिएनन् । तर अपसोच उनीमाथि सोच्दै नसोचेको घटना भएको छ । प्रविणका ८ वर्षीय छोरा प्रयास कुँवरलाई उनकै गाडी चलाउने ड्राइभरले अपहरण गरेर हत्या समेत गरेका छन् । प्रविणले काठमाण्डौको मित्रनगरस्थित त्रिवेणी गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए । त्रिवेणी गेस्ट हाउसकै गाडी चलाउँदै आएका स्याङ्जाको भीरकोट नगरपालिका निवासी महेन्द्र सार्कीले आफ्नै मालिकाको छोराको मंगलबार अपहरण गरी हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो । ’होटल सञ्चालकका छोराको उनकै ड्राइभरले पैसाका लागि अपहरणपछि हत्या गरी मेहेपीस्थित पुलमुनि जेब्रा झोलामा शव राखेको अवस्थामा भेटियो’, उप्रेतीले भन्नुभयो ’प्रारम्भिक अनुसन्धानमा बालकको अहपरण पैसाका लागि गरेको देखिएको छ । हत्यामा संलग्न अभियुक्त पक्राउ परिसकेका छन् ।’ प्रविणले २०६३ सालदेखि मित्रनगरमा त्रिवेणी गेस्ट हाउस चलाउँदै आएका थिए । उप्रेतीका अनुसार सार्कीले घटना पनि स्वीकारिसकेका छन् ।

Leave a Reply