नेपाल र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता

१४ मंसिर २०७५, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षी हुन सेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा हुन सेन बिहीबार यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली र उनका समकक्षीबीच होटल द्वारिकाजमा बिहीबार साँझ करीब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो ।

छलफलमा सहभागी सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओली र उनका कम्बोडियाली समकक्षीबीच दुई देशबीच पर्यटन प्रवद्र्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको सहभागिता थियो ।

नेपाल र कम्बोडियाबीच उच्च सरकारी तहमा भ्रमण आदानप्रदानलाई बढावा दिने तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान धारणाका साथ अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो ।

कम्बोडियाका अधिकांश नागरिकले बौद्ध धर्म मान्ने भएकाले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आजै भएको हवाई सम्झौताले महत्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ ।

यस्तै नेपाल र कम्बोडियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा परराष्ट्रमन्त्री ज्ञवाली र कम्बोडियाका उपप्रधान तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री पार्क सोख्खेनबीच हस्ताक्षर गरे ।

सो संयन्त्रले दुई देशका साझा चासो र हितका विषयमा साझा धारणा बनाउनेछ । यस्तै कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौतामा समेत उनीहरुले हस्ताक्षर गरे । प्रधानमन्त्री ओली र उनका समकक्षी सेन होटल द्वारिकामा बिहीबारै आयोजित रात्रिभोजमा सहभागी भए ।

Leave a Reply