निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१५ मंसिर २०७५, शनिबार

 

धनगढी  , नेपाली काँग्रेसका महिला नेतृहरुले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारबाही लगायत दश बुँदे माग सहित सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश राजधानी कैलालीको धनगढीमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर महिला नेतृहरुले हत्यारालाई कारबाही र महिला तथा प्रदेशको विकासका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । महिला संघकी पुर्व केन्द्रीय अध्यक्ष तथा पार्टीकी केन्द्रीय सदस्य र संघीय सांसद डा डिला संग्रौला नेतृत्वको टोलीले छाउपडी तथा बोक्सी प्रथा जस्ता कुरितीहरुलाई अन्त्य गर्न पनि माग गरेको छ । त्यसैगरी हरेक बालबालिका हिड्डुल गर्दा असुरक्षाको महशुस गर्नु नपरोस् र बालिकामाथि श्रखंलाबद्ध रुपमा भइरहेका घटनाहरुको दोषीहरुलाई तत्काल कार्यवाही गर्न पनि टोलीले. दवाव दिएको छ । प्रत्येक घरमा विद्युत सेवा पु¥याउन, दुर्गम स्थानसम्म यातायात सेवाको विस्तार गर्न, सडक दुर्घटना दुर्घटना न्युनिकरण गर्न पनि ज्ञापनपत्र मार्फत् मुख्य मन्त्रीको ध्यानाकर्षण गराइएको छ । यही मंसिर छ गते देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुगेर छलफल गरी तयार पारेको ज्ञापनपत्रमा काँग्रेस नेतृ संग्रौलाले प्रदेशको विकासका बारेमा पनि मुख्यमन्त्री भट्टलाई सुझाव दिनु भएको छ । उहाँले प्रदेश भित्र पर्ने धार्मिकस्थल, नदी नाला, ताल, निकुञ्ज, फाँट, सास्कृतिक एवम् शक्तिपीठहरुको समुचित ब्यवस्थापन तत्काल गर्नु पर्नेमा जोड दिनु भएको छ । त्यसैगरी जडीबुट्टी, खाद्यान्न, फलफूल आदिको विकासमा सरकारबाट जनतालाई उचित सहुलियत प्रदान गर्न पनि उहाँले माग गर्नु भएको छ । गाउँ गाउँमा पुग्दा महिला हिंसा, अन्धविश्वास एवम् सामाजिक कुरीति अझै पनि नराम्रोसँग गडेर बसेकाले त्यसलाई जरैबाट उखेल्नु पर्ने खाँचो ज्ञापनपत्रमा औल्याइएको छ । जनताका आधारभूत आवश्यकताका रुपमा रहेका खाना, नाना र छानासँगै शिक्षा र स्वास्थ्य जस्ता सेवाहरु पनि तत्काल उपलब्ध गराउनु पर्ने टट्कारो आवश्यकता पनि आफुले भ्रमणका क्रममा देखेको काँग्रेस नेतृ संग्रौलाले उल्लेख गर्नु भएको छ । उहाँले ज्ञापनपत्रमा लेख्नु भएको छ, “मूख्य मन्त्रीज्यू, हाम्रोको समूह सुदुर पश्चिमका ९ वटै जिल्लाहरुमा जनताबाट प्रत्यक्ष छलफल गरी तपाई सामु आएका हाँै । हामीले ध्यानकर्षण गराएका विषयमा यहाँले गंभीरताका साथ कदम चाल्नुहुने छ भन्ने हाम्रो विश्वास छ ।” प्रदेश अन्तर्गतका जिल्लाहरुको भ्रमणका क्रममा उहाँले पार्टीको भावी कार्यदिशा र राजनीतिक प्रस्तावका बारेमा पनि छलफल गर्नु भएको थियो ।

Leave a Reply