प्रदर्शन हिंसात्मक बन्दै गएपछि संकटकाल घोषणाको तयारीमा फ्रान्स

१७ मंसिर २०७५, सोमबार

 

फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ ।

फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘सरकार फेरि यस्ता घटना नदोहोरियोस् भन्ने चाहान्छ, त्यसैले संकटकाल एक विकल्प हो ।’ प्रदर्शनमा सहभागीहरुले प्रहरीमाथि नै आक्रमण गरेको, सवारी साधन, भौतिक संरचनामा आगजनी तथा तोडफोड गरेका भिडियो टेलिभिजन च्यानलहरुले देखाइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले पनि बल प्रयोग गर्दै आएका छन् ।

शनिबारको प्रदर्शनमा एक सय भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा २३ जना सुरक्षाकर्मीसमेत रहेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ४०० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

 

सबै प्रदर्शनकारीहरु पहेंलो रंगको कपडा लगाएर सडकमा उत्रिएका छन् । उनीहरु पेट्रोलमा कर वृद्धिप्रति निकै आक्रोशित देखिन्छन् । फ्रान्स सरकारले भने वातावरणमा प्रदुषणको मात्रा रोक्न पेट्रोलको खपत कम गर्नुपर्ने भएकाले कर वृद्धि गरिएको बताउँदै आएको छ ।तर प्रदर्शनकारीहरुले भने जो व्यक्ति शहरभन्दा टाढा छ र ऊ घरबाट शहरसम्म आवत जावत गर्न आफ्नो कार चढ्न बाध्य छ, त्यो व्यक्ति करवृद्धिको मारमा परेकाले त्यसलाई हटाइनु पर्ने माग गर्दै आएका छन् ।

प्रदर्शनको नेतृत्व कसले गरेको छ भन्ने पहिचान भएको छैन । कुनै नेता छैनन् । तर, सामाजिक सन्जाल प्रयोगकर्ताहरुको आह्वानमा स्वतस्फूर्त मानिसहरुले विरोध प्रदर्शन चर्काउँदै लगेका छन् ।

यद्यपि यो विरोध प्रदर्शनमा कट्ट वामपन्थी र उग्र राष्ट्रवादीहरु सहभागी भएको बताइन्छ । तर, शान्तिपूर्वक विरोध प्रदर्शन गर्नेहरु पनि सहभागी छन् । १७ नोभेम्बरमा फ्रान्समा भएको प्रदर्शनमा करिब तीन लाख जना सहभागी भएको अनुमान छ ।

 

 

 

Leave a Reply