विराटनगर वारियर्सद्वारा प्रशिक्षक र तीन विदेशी खेलाडी अनुबन्ध

१७ मंसिर २०७५, सोमबार

यही मङ्सिर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि विराटनगर वारिवर्सले आज तीन विदेशी खेलाडी तथा प्रशिक्षकलाई क्लबमा भित्र्याएको छ ।

अघिल्लो संस्करणको विजेता रहेको विराटनगरले प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियमानुसार नेदरल्याण्डस्का दुई र हङकङका एक खेलाडी क्लबमा अनुबन्ध गरेको जनाएको छ । विराटनगरले नेदरल्याण्डस्का पाउल भान मिकेरन र रोएलोफ भान डेर मेर्वी र भारतका स्मित पटेललाई क्लबमा अनुबन्ध गरेको हो । प्रशिक्षकमा भारतका उमेस पटवाललाई नियुक्त गरेको छ । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक हुन् । यही मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने इपिएललाई यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।

इपिएलमा नेपालको विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय भएको थियो । इपिएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply