पुसको पहिलो हप्ता संसद्को अधिवेशन बोलाउने ः सभामुख महरा

१७ मंसिर २०७५, सोमबार

सभामुख कृष्णबहादुुर महराले आगामी पुसको पहिलो हप्ता संसद्को हिउँदे अधिवेशन बोलाउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस सम्बन्धमा प्रधानमन्त्रीसँग समेत छलफल भइरहेको बताउनुभयो ।

सभामुख महरा हिउँदे अधिवेशन बोलाउने सम्बन्धमा सम्बधित सबैसँग आवश्यक छलफल एवम् गृहकार्य भइरहेको जानकारी दिदैं आगामी फागुन महिनाभित्र संविधानसँग बाझिएका ३०० भन्दा बढी कानून संशोधन एंव परिमार्जन गर्नुपर्ने समयसीमा रहेकाले पनि अधिवेशन चाँडो आह्वान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सरकारको काम गर्ने दिशा स्पष्ट भएकाले प्रभावकारी रुपमा आफ्नो कामलाई अघि बढाएको बताउँदै उहाँले पछिल्ला समयमा सरकारले गरेको महिला हिंसाविरुद्धको अभियान र योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम जनतासमक्ष लोकप्रिय रहेको धारणा व्यक्त गर्नुभयो ।

सभामुख महराले सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले यो सफल हुँदैन भन्नु भ्रम मात्र हो भन्दै सङ्घीयता कार्यान्वयन जटिल विषय भएकाले अरू देशको तुलनामा नेपालमा सङ्घीयता कार्यान्वयनले चाँडै गति लिएको पनि बताउनुभयो । (तस्वीर उपलब्ध छ)

Leave a Reply