मनाङको अपराजित यात्रामा अन्जनको निर्णायक गोल

0
885

शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार छैटौं जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १ – ० गोल अन्तरले हराएर मनाङले पराजित यात्रा कायम राखेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्दै अन्जनले मनाङलाई ३ अंक दिलाएका हुन् ।

खेलको ६२ औं मिनेटमा मनाङका अडेलाजालाई जावलाखेलका खेलाडीले लडाएपछी पाएको पेनाल्टीमा अन्जनले गोल गरेका थिए । 

खेलको अन्तिम समयमा जावलाखेल बराबरी गर्नबाट चुकेका थिए  । उसका फ्रिकिक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

त्यसअघि पहिलो हाफमा मनाङले बल पोजिसनमा पकड जमाएपनि जावलाखेलविरुद्ध गोल गर्न सकेको थिएन । जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले उच्च प्रदर्शन गरेपछि मनाङ गोल गर्न असफल भएको हो । पहिलो हाफको छैटौं मिनेटमा मनाङका अन्जन बिष्टको प्रहार थापाले मुस्किलले बचाएका थिए ।

यस्तै खेलको १५ औं मिनेटमा कप्तान बिशाल राईले हानेको फ्रिकिक पोलमा लागेर फर्किएको थियो ।

खेलमा अन्जन म्यान अफ दि म्याच चुनिए ।

जितसंगै मनाङको ६ खेलबाट १८ अंक जोडेको छ । मनाङ लिगमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली हो । मनाङले दोस्रो स्थानको संकटाविरुद्ध ३ अंकले अग्रता बनाएको छ ।

पराजित जावलाखेल ४ अंक जोडेर ११ औं स्थानमा छ ।