काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो।
यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिए। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो। बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो २ बजेदेखि नै आवश्यक परामर्शमा रहेका थिए।
महासचिव पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो हुन गएको हो। यही मङ्सिर १२ गतेको सचिवलाय बैठकले पार्टीको प्रदेश कमिटीमा रहने सदस्यको नामावली टुङ्गो लगाएको थियो। आजको बैठकमा पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो।