कांग्रेसको राजनीतिक प्रतिवेदन,कम्युनिष्ट शक्ति शंकामा

0
855

काठमाडौं कांग्रेसले कम्युनिष्ट शक्तिहरुको लोकतान्त्रिक प्रक्रियामा सहभागितालाई छलछाम र धोखाधडीको शंका भनेको छ ।
जारी केन्द्रिय समितिमा मंगलबार पेश भएको राजनीतिक प्रस्तावमा कांग्रेसले कम्युनिष्ट शक्तिहरुको लोकतान्त्रिक प्रक्रियामा सहभागितालाई छलछाम र धोखाधडीको शंकाका रुपमा लिएको उल्लेख गरेको हो ।
राजनीतिक प्रस्तावमा कांग्रेसले वर्तमान सरकार सत्ता र शक्तिको आडमा अधिनायकवाद तर्फ उन्मुख भएको समेत भनेको छ । प्रस्तावमा भनिएको छ,‘देशलाई तीव्र विकासको गतिमा लैजान सक्ने क्षमता प्रधानमन्त्रीमा देखिएन ।’
मस्यौदामा विगतका प्रधानमन्त्रीहरुलाई भन्दा वर्तमान प्रधानमन्त्रीलाई सहज राजनीतिक वातावरण प्राप्त भए पनि कुशल राजनीतिक क्षमता नदेखिएको आरोप लगाइएको छ ।
‘तुलनात्मक रुपले सहज राजनैतिक वातावरणको सदुपयोग गरेर देशलाई तीव्रतर विकासको गतिमा लैजान सक्ने कुशल शासकीय क्षमता र नेतृत्व उहाँमा देखिएको छैन’ राजनीतिक प्रस्तावमा भनिएको छ ।
कांग्रेसले संघियता प्रतिको उदासिनता, संविधान प्रतिको अपनत्व विस्तारमा अवरोध, प्रधानमन्त्री कार्यालयमा शक्ति विकेन्द्रिकरण, विरोधी स्वर नियन्त्रणको प्रयत्न र संचार माध्यम र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेपसमेतलाई देखाएर सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको जनाएको हो ।
कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदामा एमाले र माओवादीको एकतालाई पनि फरक दृष्टिकोणबाट हेरेको छ ।
‘सत्ता प्राप्तिका लागि एक हुने, सिद्धान्तको आवरण विस्तारै गाँस्दै जाने र जेजस्तो उँट बन्ला त्यसलाई आजको माक्र्सवादको विल्ला भिराइदिने, यो रणनीतिले चुनावी सफलता त मिल्यो, तर यसको दुष्परिणाम र द्विविधाले सरकारको गतिलाई गहिरोसँग प्रभाव र दबाबमा राखेको स्पष्ट देखिन्छ’ कांग्रेसले राजनीतिक प्रस्तावमा भनेको छ ।
यस्तै मधेश केन्द्रीत दलहरु लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएको समेत कांग्रेसले भनेको छ । राजावादी एवम् परम्परावादीहरुको दलका रुपमा चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकहरुले जनताद्वारा विस्थापित राजतन्त्रलाई पुनस्र्थापना गर्ने लगायतका दृष्टिकोण बोक्नु गलत भएको कांग्रेसले भनेको छ ।
९ गतेदेखि चलेको बैठकमा राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेश गरेका हुन । सो प्रस्ताव माथि नेताहरुले धारणा व्यक्त गर्ने क्रम जारी छ ।