यौनका अँध्यारा उज्याला पाटाहरु

0
1609

 

वैकुण्ठ ढकाल

bd.palung@gmail.com

नियमित किनमेल गर्ने पसलमै मेरा सहकर्मीले एक पाकेट दूध किने । फ्रिजबाट निकालेको दूधको प्याकेट निकै चिसो रहेछ । सहकर्मीले दूधको प्याकेट समाउने बित्तिकै भने–‘कति चिसो ।’ साहुनीले  बडा रसिक जवाफ फर्काइन– ‘भर्खरै नुहाएर आएको अनि चिसो हुँदैन त ?’ महिनावारी तिर्ने भएकाले सहकर्मीले पैसा निकाल्नु परेन । मुर्छा परेर हाँस्दै अघि लागे । मैले उनलाई पछ्याएँ । प्याकेटको दूध फ्रिजमा हालेर चिसो भएको हो । साहुनीले नुहाएर के चिसो हुन्थ्यो र ? म र साहुनीका लोग्ने पनि नभएका भए सायद ग्राहक र पसलेबीच अझै रसिक कुराकानी हुन्थ्यो होला कि ! नहुन पनि सक्थ्यो । कामको समयमा कसलाई कुरा गरेर बस्ने फुर्सद होस् ।
मेरा साथीहरु भन्थे महिलाहरु दोहोरो अर्थ लाग्ने सम्बाद बोलेर हैरान पार्छन । मलाई त्यही भएर कुरा गर्नै मन लाग्दैन । मलाई पनि त्यस्तै लाग्यो साहुनीको कुरा सुनेर ।
बाबा घर नआएकै बेश
बालबालिकासँग कुराकानी गर्न सा¥है रमाईलो हुन्छ । प्रश्न सोध्न सहज, उत्तर दिन कठिन । त्यही भएर म बालबालिकासंग धेरै भन्दा धेरै प्रश्न सोध्न रमाउँछु । एक कक्षामा पढ्ने बालिकासँग कुराकानी गर्दै थिएँ । उनका बाबा आर्मी रहेछन । बर्षको दुई पटक जत्ति घर आउने, माया पनि सा¥है गर्ने । तर उनलाई बाबा घर नआएको रमाईलो लाग्दो रहेछ । मैले सोचें घरमा पनि बाबाले सेनाको रवाफ देखाउँदा हुन, बन्दुक र बारुदको कुरा गरेर बालिकाको मनमा डर नै डर घोलिदिएका होलान अनि छोरी डराउँछिन । तर मैले सोचे जस्तो केहि हैन रहेछ । बाबा घर आउँदा उनले मामुको गाली र पिटाइ खानु पनि नपर्ने रहेछ । बाबाले ठूलो स्वरले बोलेको समेत उनलाई अहिलेसम्म थाहा रहेनछ । तै पनि बाबा घर नआएकै रमाईलो । म त झन छक्क पर्दै गएँ । आखिर किन त ? धेरै प्रयास पछि मात्रै ती बालिकाले भनिन बाबा आए पछि, म मामुसंग सुत्न पाउँदिन, आमा (हजुरआमा)सँग सुत्नुपर्छ ।
‘किन आमाले माया गर्नु हुन्न हो ?’
‘हैन आमाले मलाई बाबा र मामुले गर्ने भन्दा पनि बढि माया गर्नु हुन्छ ।’
‘अनि किन आमासंग सुत्न मन नभएको त’
‘यो अंकलले पनि कस्तो कुरा नबुझेको भन्या, मलाई सधैं मामुसँग सुत्न मन लाग्छ, तर बाबा आए पछि मामु बाबसँग मात्रै सुत्नु हुन्छ ।’
बाबा, मामु र छोरीसंगै सुत्दा चाहिं ती बालिकाले के सोच्छिन होला ? एक कक्षा पढ्ने ६ बर्षकी बालिकाले मामुु र बाबासंगै सुत्नुको अर्थ बुझ्लिन कि, आफू मामुसँग सुत्न नपाएकोमा गुनासो मात्रै गर्दि हुन ।
पहिला रहर अहिले कर
हामी दिदी बहिनी ठूला भइसकेका छौं । ठूलै बनौ कि नभनौं, टिनएजमा हिंडिरहेका छौं । एक्लाएक्लै सुत्न मन पराउँछौं । म मामुसँग लामो समय सुत्नै पाइन । म डेढ बर्ष हुँदा नहुँदै बहिनी जन्मिहाली । जो सानो हो, उसकै हक हो मामुसँग सुत्ने यसमा मेरो कुनै गुनासो रहेन । आज चाहिँ मामु मसँग सुत्न नआईदिए हुन्थ्यो जस्तो लाग्छ, त्यही दिनचाहिँ आइदिने । न साथीहरुसँग कुराकानी गर्न पाइने न त मोबाइलमा साथीहरुसँग च्याट गर्न नै पाउने । ईयरफोन लगाएर फिल्म पनि हेर्न नपाइने भन्या । दिक्क लाग्छ । बहिनीचाहिँ मोबाइल चलाउन रातभरि फ्रि हुन्छे, आफूचाहिं …… । कहिलेकाहिं चाहिं आनन्द हुन्छ, त्यो आनन्द आउन बाबा घर आउनु पर्छ । जब बाबा जागिरबाट घर आउनु हुन्छ, मलाई मामुसँग सुत्नु पर्दैन । मामुसँग सुुत्नु झ्यालखानामा थुनिनु जस्तै लाग्छ । बाबा जागिरबाट पेन्सन भएर घरै बस्ने घरि आउनु भयो, त्यसपछि फेरी बोरिङ शुरु भयो । खै किन हो, अब त बाबा घरै हुँदा पनि मामु बाबाको कोठामा पस्नै छाड्नु भयो । गर्मीको बेलामा त झन दुई जना सुत्दा हैरान हुन्थें । महिनाको केहि दिन मात्रै आनन्द हुन्थ्यो, जून दिन मामुु बाबाको कोठामै रहनु हुन्थ्यो । सानामा मामुसँग सुत्न रहर भयो । अहिले कर भइरहेको छ ।
यसमा पनि यौनकै कारण हुन सक्ला । श्रीमानलाई अति यौन चाहना र श्रीमतीलाई चाहना कम हुँदा त्यसबाट मुक्ति खोजेको पनि हुन सक्छ । छोरीसँग सुत्न गएपछि पक्कै पनि श्रीमान आफूलाई तान्न आउँदैनन भन्ने सोचेको हुन सक्छिन श्रीमतीले । यौनसँग भागेर समस्याको समाधान होला ? जीवनको उत्तरार्धतिर पुग्दै गर्दा  वैबाहिक सम्बन्ध खलबलिएला कि ?
विदेशमा शरीर जोड्छन, यहाँ नाम
समाजमा मानिसका अनेकौं भूमिका हुन्छन । कसैले बेदाग आफ्ना भूमिका निर्बाह गर्छन । कसैलाई आर्थिक दाग लागेको हुन्छ, कसैलाई महिलाको बात लाग्छ । कतिपयको सामाजिक, आर्थिक जीबन दागैदागले भरिएको पनि हुन सक्छ । यथार्थ बाहिर रहेर पनि कतिपय कुराहरु बाहिर आउँछन । ४० नाघेकी एक पत्रकार महिलासँग अनलाईनमा कुराकानी भयो । काम बिशेषले टेलिफोनमै कुराकानी गर्नु पर्ने पनि भयो, पहिलो पटकको सम्बादमै पनि खुलेर कुरा गर्ने बानी मलाई मन प¥यो । मैले केहि पत्रकारको नाम लिएर फलानो फलानोसँग जोडिएर आएको छ, के रहेछ भनेर प्रश्न गरें ।
उनले यसलाई स्वभाबिक भनिन । ‘हामीले ब्यक्तिगत कुरा भन्दा पनि नेतृत्वले, अगुवाले समाजका लागि के दियो भनेर हेर्नु पर्छ । घरपरिवारबाट बाहिर निस्किसकेपछि जरुर कोही न कोहीसंग नाम जोडिन्छ । घरभित्रैै बसिरहे मात्रै हो कोहीसंग नाम नजोडिने । विदेशतिर यस्ता कुराको कुनै मतलब हुँदैन, मन मिल्दा शरीर नै जोड्छन, नेपालमा चाहिं हुँदै नभए पनि नाम जोडेर बदनाम गर्छन । समाजको काममा हिंडेको भन्दैमा सवैले सबै जैविक आवश्यकताहरु मार्नु पर्छ भन्ने पनि नहोला नि ?’
यसमा मैलै जवाफ दिनु उचित ठानिन र दिईन । मनमा चाहिं धेरै दिनसम्म कुरा खेलिरह्यो  जैविक आवश्यकता पूरा गर्ने नाममा घर परिवार चाहिं छिन्नभिन्न भयो भने नि ?
र यो पनि
‘हामी बूढाबूढी एउटै ओछ्यानमा सुते पनि, एक्लै एक्लै हुन्छौं । जस्तो सुत्यो, त्यस्तै ब्यूँझन्छौं । संगै सुत्दा पनि कहिलेकाहिं त दुई महिनासम्म एकले अर्कोलाई छुँदैनौं । न उनले पहल गर्छिन न मैले नै गर्छु । हामी त मिलेछौं ।’
विवाह भएको केहि वर्ष मात्रै भएको एक साथीको यो अनुभब सुन्दा मलाई अचम्म लाग्यो, अविश्वनीय पनि । यत्ति हुँदाहुँदै पनि म बेखुशी भइन । किनकी एउटालाई अति चाहना वा अर्कोलाई अति कम चाहना भएको भए त सम्बन्ध टुक्रिन्थ्यो होला । साथीले भनेको अन्तिम वाक्य ‘हामी त मिलेछौं’ भन्नेले खुशी बनायो । मनमन मिलेर मात्रै पनि वैबाहिक जीवन नचलेका कयौं उदाहरण भेटिएका छन ।