किसानको अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध’

0
710

 

हेटौँडा,  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालको ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेकाले उनीहरुको हक र अधिकार संरक्षणका लागि वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।

मकवानपुर कुखुरा व्यवसायी सङ्घ हेटौँडाको तेस्रो अधिवेशन तथा १२औँ साधारणसभाको आज एक समारोहबीच उद्घाटन गर्दै मुलुकमा कूल जग्गामध्ये २३ प्रतिशत जमीनमा खेती हुने गरेको र त्यसमध्ये ३८ प्रतिशत जमिन बाँझो रहेकोले कृषि पेशामा आकर्षण बढाउन सरकार गम्भीर छलफलमा लागेको बताउनुभयो ।

मन्त्री खनालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडीमुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

बैंकले किसानलाई ऋण दिएबापत लिँदै आएको १० प्रतिशतको व्याजलाई ३ प्रतिशतमा झार्न विशेष छलफल मन्त्रालयस्तरमा भइरहेको बताउँदै उहाँले जमीनको प्लटिङ एवं खण्डीकरण रोक्न विभिन्न कार्यक्रम सञ्चालन भएको कृषि उत्पादनका लागि बीउविजन र मलमा अनुदान सरकारले दिइएको अधिराज्यव्यापी १३ वटा कोल्ड स्टोर अनुदानमा निर्माण भइरहेको जानकारी दिनुभयो ।

भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेको छ उहाँले भन्नुभयो ।

प्रदेश नं ३ का सांसद प्रेमबहादुर पुलामीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवं गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्दै कुखुरा व्यवसायीको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेश नं ३ का मुख्य सचिव आनन्दराज ढकालले कृषि क्षेत्रलाई प्रदेश सरकारले व्यावसायिक नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै कृषि क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेकाले किसान आधुनिक खेतीतर्फ जान आग्रह गर्नुभयो ।

मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको सो अधिवेशनमा जिल्लाका कुखुरा व्यवसायसँग सम्बन्धित करीब ५०० किसानको सहभागिता थियो ।