राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गरे राप्रपा कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा उद्घाटन गर्दे उनले कांग्रेसलाई महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न आग्रह समेत गरे । उनले हिन्दु राष्ट्र नहुँदा नेपाल नै स्वतन्त्र राष्ट्र रहन्न कि भन्ने स्थितिमा पुगेको बताए ।
उनले भने, ‘कांग्रेस साँच्चिकै हिन्दु राष्ट्रको पक्षमा भए अहिले काठमाडौंमा भइरहेको महासमिति बैठकबाट निर्णय गरोस्, म त्यो साहस देखाउन कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्दछु पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले संविधानमा हिन्दु राष्ट्र, राजसंस्थालगायतका नराखेर गम्भीर त्रुटी भएकाले त्यसलाई सच्याउन आग्रह गरे । अध्यक्ष थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार असफल भइसकेको बताए । अध्यक्ष थापाले काठमाडौंमा बसेर नेतृत्वको आलोचना गर्ने तर सिन्को नभाँच्ने नेताहरुलाई जिल्ला जिल्ला र गाउँ गाउँमा गएर कार्यकर्ताको भावना बुझ्न र प्रेरणा दिन आग्रह गरे ।
कार्यक्रममा राप्रपाका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिंग्देन, राप्रपाका पूर्व उपाध्यक्ष राजिव पराजुली ,पूर्व मन्त्री तथा राप्रपाका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ ,पूर्व मन्त्री तथा राप्रपा केन्द्रीय सदस्य भीमप्रसाद गौचन, नेताहरु पुष्पलाल पौडेल, रुद्रबहादुर भण्डारी, कास्की अध्यक्ष महेन्द्रबहादुर कार्कीलगायतले बोलेका थिए ।