सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । बुकवर्म फाउन्डेसनले आयोजना गरेको ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी भएका छन् । महोत्सवको शिक्षासेबी जर्ज जोन र एलियाम्मा जोनको प्रमुख आतिथ्यतामा उद्घाटन गरियो । कार्यक्रममा बोल्दै आईएमई समूहका अध्यक्ष हेमराज ढकालले नेपाली साहित्य र सिर्जनाको लागि आफ्नो समूहले सधैं साथ दिन तयार रहेको बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा पर्यटकीय शहर मात्र नभै साहित्यको राजधानीका रुपमा समेत बिकसित हुदै गएको बताए । उनले नेपाली साहित्य र भाषाको विकासका लागि पोखराले महत्वपुर्ण योगदान दिएको समेत दाबी गरे । वरिष्ठ साहित्यकार सरुभक्तले प्रमुख अतिथि जर्ज जोन र एलियाम्माले नेपालको शैक्षिक विकासमा महत्वपुर्ण योगदान दिएको बताए । कार्यक्रममा साहित्यकार, लेखक, समाजशास्त्री, राजनीतिज्ञ, कलाकर्मीहरुको सहभागिता रहेको छ । यसैबिच कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको संस्मरणात्मक पुस्तक ‘हिल्ड’को पनि सार्वजनिकीकरण गरियो । फेवा किनारको बाराहीघाटको चौरमा संचालित महोत्सव पुस १० गते सम्म चल्ने छ ।
तस्विर–सुदर्शन रञ्जित/फोटो पत्रकार