सरस्वती हरिजन
माथिको प्रश्नमा गम्भीरतापूर्वक सोच्यो भने धेरैको उत्तर आउँछ हो तर मलाई लाग्छ सत्प्रतिशत त हैन तर केही हदसम्म पक्कै पनि हो। पुरुषले नारीलाई दबाउने भरपर्दो माध्यम बनाएका छन् सहनशीलतालाई। फेरि उनिहरुले नबुझेका पनि होईनन् नारीको सहनशीलतानै पुरुष अनि समग्र परिवारको जीवन व्यवस्थापनको महत्त्वपूर्ण तत्व हो भनेर। यति जान्दाजान्दै पनि हाम्रो समाजमा विद्यमान सामाजिक तथा धार्मिक संरचना पुरुषवादी छ त्यसैले नारीले खुलेर विरोध गर्न सक्दैनन् किनकि आर्थिक रुपमा महिलाहरु कमजोर छन् यहि आर्थिक पक्षलाई हतियार बनाएर पुरुषहरु आफ्नो शक्तिलाई मजबुत बनाईरहेका छन्।
बास्तबमा सामाजिक ,धार्मिक परम्परागत संरचना एवम् राज्य संचालनका लागि बनाईएका एेन,कानुन र व्यवस्थामानै पुरुषको वर्चस्व रहेकोले पनि नारीहरुको उत्थान हुन सकिरहेको छैन।ग्रामिण भेगमा रहेर जीवन व्यतित गरेका धेरै नारीलाई हेर्ने हो भने उनीहरुको जीवन कहालिलाग्दो छ ।यो कहालिलाग्दो रुप परिवर्तन गर्ने कहिले ,कसले ,कसरी, प्रश्न यहाँनेर छ।चेतनाको कमि, अशिक्षा, रुढीबादी परम्परा ,बेरोजगारी जस्ता मुलभूत कुराले नै नारी हिंसाको शिकार हुन बाध्य भएका छन्।पढेलेखेका र केही विद्वान् पनि ।
बुद्धिजीवी महिलाहरूले विभिन्न कार्यक्रममा सरिक भई आफ्ना विचार तथा भावनालाई प्रस्तुत गरेपनि विना सुनुवाइ यो विकराल अबस्थालाई पार लगाउन सकिने देखिदैन । ग्रामीण स्तरका नारीले त्यति सजिलोसँग जरो गाडेर बसेको पितृसत्तात्मक सोचाइलाई प्रतिकार गर्न सक्दैनन् ।उनीहरुको यहीँ अबस्थाले नेपालको महिला आन्दोलनलाई असर पुर्यातईरहेको छ। बदलिँदो राजनीतिक परिबेश र महिला आन्दोलनले राज्यका हरेक तह,तप्का र व्यवस्थामा महिलाको सहभागितालाई महत्त्व दिएपनि यो बाध्यात्मक सहभागिता केबल सहभागितामै सिमित रहेको पाईन्छ ।पहुँच ,नियन्त्रण र निर्णायक तहमा अझैपनि अर्थपूर्ण सहभागिता जनाउन दिईएको छैन । ३३५ सहभागिता कार्यान्वयन गर्दै गर्दा आएको परिवर्तनले एक प्रकारको आशा गर्ने स्थान त बनाएकै हो। अहिलेको स्थानीय तहदेखि केन्द्रसम्म गराईएको सहभागिता र प्रस्तुति पनि महत्त्वपूर्ण नभएको होइन ।तर पनि हामी नारीहरु आफ्नो आवाज,विचार र जिम्मेवारी प्रति त्यति धेरै संवेदनशील नभएको होकि भन्ने महशुस अहिले धेरैले गरेका छन्।
भाषणमा त हामी धेरै उतारचढावका कुरा गर्छौं तर व्यवहारमा बास्तबमा भन्ने हो भने आफुलाई बुझक्कड ठान्ने नारीले पनि उतार्न सकेका छैनौं यहि मौन अवस्था नै पुरुषका लागि झन् शक्तिशाली बनिदिएको छ। समता र समानताको कुरालाई अगाडि बढाईरहदा हामी नारी आफै कतिपय कुरालाई ग्रहण गर्न सकिरहेका हुदैनौ अनि भन्छौ पछाडि परिरहेका छौ।त्यसैले हामीले यो कुरा बुझ्नु जरुरी हुन्छ निर्धक्कसँग आफ्नो अधिकारको लडाइँ लड्नु पर्छ।हाम्रा परम्परागत सोचाइका घेराहरु र कागजमा कोरिएका एेन,कानुन व्यवस्थालाई महिलामैत्रि बनाई व्यबहारमा कार्यान्वयन गर्न ,गराउन एकताबद्ध भई लाग्नुपर्दछ।महिलाको सहनशीलताले गहन जिम्मेवारी बहन गरेको छ।
आखिर पुरुषको सफलता र समग्र देश विकास निर्माणका लागि पनि त नारीको भुमिका अपरिहार्य छ भन्ने कुरालाई महशुस गराई आधाभन्दा बढी आकाश ढाकेका महिलाहरुको धर्तिसँग बलियो सम्बन्ध स्थापित गराउन लाग्नुपर्छ ।हुनत समाजमा पुरुषहरु पनि विभेदमा नपरेका होइनन् तर पनि विभेदमा पर्ने नारीको बढ्दो संख्याले आवाज बुलन्द गर्नुपर्ने जरुरत परेको हो। महिलाले पुरुषसंग तत्कालै प्रतिकार नगर्नुलाई पुरुषहरु सहनशक्ति सम्झन्छन् र आफ्नो पुरुषार्थलाई बढवा दिन्छन् तर सहनुको पछाडि पनि छुट्टै रहस्य छ त्यो हो महिला उत्थानको लागि दीर्घकालीन योजना बनाउनु र मैत्रीपुर्ण समाज निर्माणमा सहयोग पुर्यातउनु ।तसर्थ अहिलेको परिवेशमा हामी लिङ्ग र वर्गको लडाइँ लड्नेतर्फ लाग्ने होईन हामी सबैको अस्तित्व बराबर छ त्यसैले सहकार्य ,समझदारी र साझेदारीमा हामी अगाडि बढ्नुपर्छ ।महिला स(शक्तिकरणको लागि सबै(सबैको भूमिका महत्त्वपूर्ण रहन्छ ।हामी आफ्नो जिम्मेवारी र दायित्वको खिलापमा लाग्दा समाज पनि अपराधिक बन्न पुग्छ।व्यबस्थित समाज निर्माण तथा अपराध नियन्त्रण गर्नको निमित्त एेन तथा कम तथा कार्यविधिमा गरिएका व्यबस्थाहरुको सफल कार्यान्वयन हुनुपर्छ ।बनेका र बन्दै गरेका एेन कानुन मानवीय हुनुपर्छ तथा न्याय सम्पादनको क्रममा स्वच्छताको पनि ख्याल गरि स्वविवेकमा पुनर्विचार गर्नाले पनि शक्तिको दुरुपयोग नियन्त्रण हुनसक्छ ।यसैले हामी सबै नारीहरु एकताबद्ध भई लाग्यौं भने पक्कै पनि नारी आवाजको सुनुवाइ हुन्छ । ग्रामीण स्तरबाटै संगठित बनाई हातेमालो गर्दै लोकतान्त्रिक र समुन्नत समाजको निर्माणक निर्माणमा जुट्दा हामी सबैको भलाई हुन्छ।
सदस्य
संकल्प सञ्जाल–गण्डकी प्रदेश