चिकित्सा विधेयक ‘बलपूर्वक’ पारित गर्ने पक्षमा सरकार, पेलेर गए, प्रतिवाद हुन्छ : कांग्रेस

0
989

सरकारले चिकित्सा विधेयक हरप्रयासले पास गर्ने संकेत देखाएको छ।

नेपाली कांग्रेसले चिकित्सा विधेयकलाई मंगलबारको बैठकमा प्रस्तुत हुन नदिएपछि रुष्ट बनेको सरकारले हरसम्भव प्रयास गरी विधेयक शुक्रबार पास गर्ने संकेत देखाएको हो।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा र अर्का नेता योगेश भट्टराईको बुधबारको अभिव्यक्तिले विधेयकलाई ‘पेलेरै’ पास गर्ने रणनीति बनाएको देखिन्छ।

विधेयक जनतामुखी भए कि भएनन् भन्ने विषयमा छलफल नै हुन नसकेको बाँस्कोटाले बताए। अनसनरत डा गोविन्द केसीलाई विधेयकमा समेटिएका विषयभन्दा अरु नै पढाइएको  छ कि भन्दै उनले आशंका व्यक्त गरे।

कुनै पनि विश्वविद्यालयले काठमाडौंमा १० वर्ष मेडिकल खोल्न नपाइने व्यवस्था गरिएको छ, यो जनमुखी भएन? भन्दै मन्त्री बाँस्कोटाले केसीलाई प्रश्न गरे। ‘पढ्न पो अर्कै दिइएको छ कि? कसै–कसैले?,’ उनले कटाक्ष गरे।

संसदीय समितिले आवाज र मेलमार्फत बोलाउँदा पनि केसी बैठकमा नआएको उनको भनाइ थियो। केसी कसैको रुचीमा सञ्चालित भएको आंशका व्यक्त गर्दै मन्त्री बाँस्कोटाले भने, ‘हावामा तरबार चलाएर निशाना लाग्दैन। के ढाल्नको लागि किन तरबार चल्दैछ, बुझ्न सकिएन।’ केसीका माग शतप्रतिशत पूरा भएको जनाउँदै उनले अझै व्यवस्थित भएको दावी गरे।

संसदमा छलफल हुन सक्ने विकल्प प्रस्तुत गर्दै बाँस्कोटाले एकोहोरो कुरा मात्रै गरेर नहुने बताए। उनले भने, ‘सरकारको रणनीति, निर्णय, अडान टस कि मस भएन भन्नुस्, अधिनायकवाद भन्नुस्। दुई तिहाइको दम्भ देखायो भन्नुस्। विधेयक पास हुन्छ।’

जुलुस वा अनसनहरुले कानुन बनाउने हो कि संसदले अनसन बनाउने भन्दै केसीप्रति आक्रोश व्यक्त गर्दै उनले विगतमा विधेयक पास भएका नजिरहरु देखाउँदै विधेयक जुन तबरले पनि पास गर्ने संकेत गरे।

बाँस्कोटाकै जस्तो अभिव्यक्ति बुधबार अर्का नेता योगेश भट्टराईले पनि दिएका थिए। मंगलबार संसदमा कांग्रेसको कारणले विधेयक प्रस्तुत गर्न नसकेपछि आक्रोशित नेकपाका नेताहरुको पछिल्लो अभिव्यक्तिले शुक्रबारको संसदबाट विधेयक हरतरिकाले पास गर्ने देखिएको छ।

शिक्षा तथा स्वास्थ्य समितिमा समेत रहेका भट्टराईले २०५१ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख रहेको समयमा पास भएको विधेयकको दृष्टान्त प्रस्तुत गरेका थिए।

शिक्षामन्त्रीलाई रोष्ट्रममा जान नसके बसेकै स्थानबाट विधेयक पेश हुने उनले बताए। तत्कालीन समयको स्मरण गर्दै उनले भने, ‘संसदमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । एमालेले रोष्ट्रम घेराउ गर्योन।’

सभामुख रहेका पौडेलले स्थानीय निकायसम्बन्धी विधेयकलाई मन्त्रीलाई बसेकै स्थानबाट निर्णयार्थ प्रस्तुत गर्न अनुमति दिएको तत्कालीन परिवेश भट्टराईले स्मरण गरे।

९५ प्रतिशत डा केसीका मागमा पूरा भएको दावी गर्दै आएको नेकपाले शुक्रबार विधेयकलाई पास गर्ने रणनीति बनाएको हो।

दुई दिन संसदलाई अवरुद्ध गरेको कांग्रेसले भने सरकारको तयारीअनुरुप नै आफ्नो रणनीति तय हुने जनाएको छ।

कांग्रेस नेता गगन थापाले सभामुख दलविशेष जस्तैगरी प्रस्तुत हुन नहुने बताए। कुनै नेताले बोलेको आधारमा संसद सञ्चालित हुने हो कि संसद आफ्नै नियमावलीमा चल्छ?,’ उनले प्रश्न गरे।

विगतको नजिर देखाएर पछाडि फर्कने कार्यले कसैको हित नहुने उनले बताए। थापाले भने, ‘सरकारले पेलेरै जाने रणनीति बनायो भने प्रतिपक्षको प्रतिवाद पनि त्यसैअनुरुप हुन्छ।’