काठमाडौँ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई साहित्य पर्यटनका रुपमा विकास गरिने बताउनुभएको छ ।
तनहुँको चुँदीमा जन्मनुभएका स्व लक्ष्मी पन्तको दोस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित ‘स्व लक्ष्मी पन्त स्मृति ग्रन्थ विमोचन’ कार्यक्रममा उहाँले भानुभक्तको जन्मथलो चुँदीलाई साहित्य पर्यटनको रुपमा विकास गरिने बताउनुभयो । “भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरेलगायतका साहित्यकार जन्माएको थलो गण्डकी र तनहुँलाई साहित्य पर्यटनका रुपमा विकास गर्ने मैले लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो ।
नेता पौडेलले सांस्कृतिक, पर्यटकीय, धार्मिक, ऐतिहासिक महत्व बोकेको गण्डकी प्रदेशको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनको छोटो समयमा नै लक्ष्मी पन्तले धेरै काम गरेको बताउनुभयो । नेता पौडेलले राजनीतिमा महिला सहभागिता न्यून भएको बेला पन्त एक उदाहरणका रुपमा काङ्ग्रेसको सङ्गठन विस्तारमा लागेको बताउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले राजाले चलाएको प्रतिगमनको आन्दोलनमा स्व पन्तको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “राजाको प्रतक्ष्य शासनकालमा विद्रोह गर्न सक्ने असल नारी पन्त हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । काङ्ग्रेस नेता रामचन्द्र पोखरेलले राजनीतिप्रति चासो, समाजसेवाप्रति रुचि र अध्यात्मप्रति आस्था राख्ने व्यक्ति स्व पन्त भएको बताउनुभयो । “राजनीतिमा आध्यात्म हुनुपर्छ भन्ने भावना स्व लक्ष्मी पन्तमा थियो”, उहाँले भन्नुभयो ।
पुस्तकका सम्पादक गौरी ढकालले पुस्तकले पन्तको समग्र जीवनलाई समेटेको बताउँदै लक्ष्मीको योगदान बुझ्न पुस्तक उपयोगी हुने बताउनुभयो । काङ्ग्रेस गोरखाका उपसभापति सुकदेव दवाडीले गोरखाको प्रजातान्त्रिक आन्दोलनमा स्व पन्तको महत्वपूर्ण योगदान भएको बताउनुभयो । वरिष्ठ राजयोग प्रशिक्षक कुसुम श्रेष्ठ र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेलका प्रमुख रामसिंह ऐरले सामाजिक सुधार र आध्यात्मिक चेतनाको क्षेत्रमा स्व पन्तले काम गरेको बताउनुभयो ।
पन्तले सामाजिक र नेपाली राजनीति जीवनमा गर्नुभएको सङ्घर्षलाई आम जनमान समक्ष लैजान पुस्तक प्रकाशन गरिएको स्व पन्तका श्रीमान भोजराज पन्तले जानकारी दिनुभयो । स्व पन्त महिला सङ्घ गोरखाको नेत्री तथा काङ्ग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुनुभएको थियो । विसं २०१४ भदौमा तनहुँको भानु नगरपालिकामा जन्मनुभएकी पन्तको विसं २०७३ माघ १९ श्रीपञ्चमीको दिनमा क्यान्सर रोगको कारण निधन भएको थियो ।