जीवनमा सफलताको रहस्य के हो ?

0
3568

 

आशिष थापा

एउटा समुन्द्र को जीवलाई सोध्न मिल्छ भने सोध्नु, जीवन के हो ? उसको उत्तर हुन सक्छ, चारै तिर पानी नै पानी छ, जीवन जल नै हो र जल नै जीवन हो। तब उसलाई भन्नु कि जीवन के हो, ब्याख्या नगर, भन मात्रै, सायद त्यो क्षण केहि असहज हुन सक्छ। सबै भन्दा प्यारो चिज जीवन को विवेचना गर्न सहज छैन किनकि जुन चिज सबै भन्दा प्यारो हुन्छ, उक्त चिज को ब्याख्या गर्न प्राय सबै असमर्थ हुन्छन यदि समर्थ छन् भने पनि त्यो अधुरो हुन जान्छ। वास्तवमा जीवन जिउनु नै यसको उच्चतम ब्याख्या हो। जीवन को परिभाषा समय, काल र परिस्थिति अनुसार फरक- फरक हुन जान्छ। जीवनमा मानिस को महत्व र प्राथमिकता मा अन्तर हुन्छ जसको कारण हामी विभिन्न भेष, भूसा, जाति, रिति, रिवाज, परम्परा, धर्म इत्यादी देख्न सक्छौ। साच्चै नै भन्नु पर्दा यिनै जातीय तथा साँस्कृतिक विविधता ले जीवन मा जीवन को रंग घोल्न अहम् भूमिका खेलेको हुन्छ।

जीवन पशु को पनि हुन्छ तर उसको ज्ञान र विवेक को दायरा/घेरा साँघुरो भएको कारण राम्रो खानु र बस्नु मात्रै उसको उपलब्धी हो। तब प्रश्न आउन सक्छ, मानिसको जीवन को लक्ष्य र सफलता के हो ? प्रश्न गम्भीर र सोच्न योग्य छ। व्यक्ति- व्यक्ति बीचको चाहना र प्राथमिकताको अन्तरले यसको लक्ष्य पनि फरक-फरक हुन सक्छ जसको फलस्वरूप लक्ष्यमा पुग्नु मात्रै सफलता हुन जान्छ। यसै सिलसिलामा महाकवी लक्ष्मी प्रसाद देवकोटा भन्नुहुन्छ ‘ लक्ष्य एकै राख्नु उडी छुनु चन्द्र एक ‘, बिज्ञान र प्रविधिको सहाराले मानिस चन्द्रमा पुगिसक्यो, अब के लक्ष्य समाप्त भयो र मानिस सफल भयो त ? वास्तवमा लक्ष्यमा पुग्नु मात्रै पनि सफलता रहेनछ। तब स्वाभाविक प्रश्न उठछ, सफलता के हो त ?

संसारभरी एक आँधी-भेरी नै चलेको छ सफल हुन र यो विवादास्पद शब्द सफलताको ब्याख्या गर्न। बिभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिको सहारा लिएर उक्त शब्द को विश्लेषण गर्ने प्रयास गरिन्छ किनकि उक्त व्यक्तिले जीवनमा हासिल गरेको नाम र दामलाई सफलता हो भन्ने एक भ्रम पैदा भएको हुन्छ। यदि त्यो व्यक्ति सफल हो भने उसलाई सोध्नु तँपाईको जीवनमा समस्या छैन? त्यो क्षण तपाइको प्रश्नको उत्तर दिन तँपाई भन्दा तँपाईको विज्ञ र प्रिय व्यक्ति बढी आत्तुर हुन्छ र सायद तँपाईको भन्दा धेरै अनुभव र भोगाईको कारण समस्याको बुँदा उ संग बढी नै हुन्छ। तब विज्ञता पनि सफलता रहेनछ। समस्या ज्युँ का त्युँ नै छ। फेरी लग्न सक्छ टन्न धन कमाउने धनि व्यक्ति पो सफल छ कि ? त्यहाँ पनि त्यस्तै निराशा, धन जोगाउने उपाय पत्ता लगाउँदै गर्दा तपाइँ भन्दा पनि बढी तनावमा तपाइँको धनि व्यक्ति देखिन्छ।पूनः दोस्रो पटक पनि प्रश्न अन-उत्तरित नै हुन्छ। जीवन को अर्को अध्याय समाउँदै , तपाइँ भन्न सक्नु हुन्छ, सायद परख्यात हुनुमा पो सफलताको रहस्य लुकेको छ। कोहि जगत् मा नाम कमाएका परख्यात व्यक्तिको जीवनी हेर्नुहुन्छ त झन् ठुलो समस्या देख्नुहुन्छ , मानिसको व्यक्तिगत स्वन्तन्त्रताको चाबी त अर्कै को हातमा पो रहेछ त। यसरि तेस्रो पटक पनि समस्या को भुमरीमा परि रहनुहुन्छ।

अब, अहिले सम्म को भोगाई र अनुभवको निचोड निकाल्दै, तपाइँ स्वस्थ र निरोगी व्यक्तिसंग जीवन को सफलताको परिभाषा माग्नुहुन्छ त, त्यहाँ पूर्ण स्वास्थ्य, तनाव रहित खुशी, निस्फिक्री हाँसो पाँउनुहुन्छ, जुन केहि हद सम्म सत्य हुनु सक्छ।आखिर मा लग्न सक्छ सफलता भन्ने शब्द त एउटा काल्पनिक शब्द रहेछ जुनको भौतिक अस्तित्व संग कुनै साइनो रहेनछ। यो धारण धेरै हद सम्म सत्य हुन जान्छ। उक्त रहस्यको आभास हुन मानिसलाई जीवनको प्रौढ अवस्थासम्म कुर्नुपर्ने हुन सक्छ जब मानिस आफैमा शाररिक तथा मानसिक रुप मा असक्त भैसकेको हुन्छ।

जसरि मयुँरको प्वाँख खुशी को चरम बिन्दुमा मात्रै स्वन्तन्त्र रुपले फैलिएको हुन्छ ठिक त्यसै गरि वृक्षको सारा श्रम त्यसैको फलमा, फुलको बोटको पनि उच्चतम उपलब्धि त्यसैको फूलमा हुन्छ। उक्त अवस्था मा मानिसको पनि एक चरम विन्दु हुन्छ, भनि सहजै अनुमान लगाउन सकिन्छ। साहित्यकार को साहित्य, संगीतकार को संगीत, कविको कविता र लेखकको लेख मा नै चरम सन्तुष्टि लुकेको हुन्छ। त्यसकारण जीवनमा पर्याप्त सन्तुष्टि नै सफलता मापन गर्ने योग्य कारण हुन सक्छ। सबै भन्दा सफल व्यक्तिमा हुनुपर्ने गुण भनेको आफ्नो कामलाई लिएर पर्याप्त सन्तुष्टि र चरम आनन्द हुन जरुरि हुन्छ। अन्यथा सफल व्यक्तिको भौतिक सफलता पनि ब्यर्थ हुन जान्छ।

समाजले धेरै समय अगाडी देखि नै नाम, धन र सोहरत लाई सफलता मापन तत्वको रुपमा स्वीकार गर्दै आएको छ। यो एक हिसाब ले ठिक पनि हो किनकि सबैलाई यी तीन चिज सहज प्राप्ति नहुन सक्छ तर त्यसो भन्दैमा प्राप्त भएका सबै मानिस सफलता देखि सन्तुष्ट छन् भन्न चाँही मिल्दैन। सन्तुष्टि प्राप्त गर्न त विरह, धैर्यता, परम-ज्ञान, विवेकको आवश्यकता पर्दछ। जुन आज भोलिका मानिसमा दुर्लभ छ।

भनिन्छ असन्तुष्टि विज्ञानको निम्ति वरदान हो। यस्ता धेरै खोज अनुसन्धान छन्, जसको निम्ति विभिन्न बैज्ञानिकहरु धेरै अगाडी देखि नै असन्तुष्ट थिए जसको फल स्वरूप बिज्ञान प्रविधि को क्षेत्र अतुलनिय रुपमा अघि बढेको छ।यी बैज्ञानिकहरुमा पनि असन्तुष्टि आफ्नो कामलाई लिएर थियो, आफ्नो जीवन लाई लिएर होइन। यदि जीवनमा उपलब्धि र प्रगति हासिल गर्नु छ भने आफ्नो काम र कर्तब्यलाई लिएर चिन्ता हुन जरुरी हुन्छ। अनन्त:यस्ता व्यक्ति पछि गएर बिज्ञान र प्रविधिको क्षेत्रमा नविन खोज र सिदान्तको उजागर गर्न निपुण बन्दछन्।

मानिसको जीवन बुझ्न उसको बाल्यकाल हेर्न जरूरी हुन्छ किनकि बिउ जस्तो रोपिन्छ फल उस्तै हुने हो। सानो उमेरमा परेको छाप पछि गएर मुर्त रुप लिन्छ। खास गरि हामीहरुको शिक्षा र संस्कारमा नै कतै खोट हुनुपर्छ, जसले गर्दा मानिसलाई भौतिक तत्वको जस्तै भौतिक विद्या, धन, विलासिता ,मान- प्रतिष्ठा, यस, आराम बारेमा मात्रै पुरा-पुरा ज्ञान प्राप्त हुन्छ। जीवनमा अभौतिक तत्वको अभावले कठिन अवस्थामा हुने सामान्य उतार चढावलाई सन्तुलन मा राख्न नसकेर आफ्नो जीवन देखि हार मान्न पुगछन्। जब देखि व्यक्तिलाई भौतिक भन्दा अभौतिक तत्वको कमि महसुस हुन थाल्छ सायद त्यो दिन जीवनमा सुनौलो प्रकाश पर्न सुरु हुन सक्छ।

एउटा पुरानो कथा छ , भगवान र किसान बिचको। सधै भगवानलाई आफ्नो खेतको अन्नवाली राम्रो नहुनु मा दोष लगाउने किसान, एक दिन भगवान स्वंयम प्रकट भएर आफ्नो खेति राम्रो बनाउन उसलाई दिब्य शक्ति प्रदान गर्दछन् र किसान आफुलाई प्राप्त दिब्य शक्ति को प्रयोग गर्दै आवश्यकता अनुसारको प्रकाश, जल, वायुको पुरा-पुरा व्यवस्था गर्छ।यसरि आफ्नो खेतमा धान तथा अन्नवाली राम्रो संग हुर्केको देखेर भगवान लाई पुकार गर्दै आफुलाई प्राप्त, दिब्य शक्तिको सदुपयोग गरेको दाबी गर्छ। तर दुर्भाग्यपूर्ण, हुर्केको धान र अन्नवाली भित्र दाना पाउँदैन र त्यो त सप्रेको एक हरियो घाँस सरह मात्रै पाउँछ। यस्तो हुनुमा भगवानलाई पुन:दोष दिदै भन्छ यो कसरि सम्भव भयो, मैले त जल, प्रकाश, वायु को आवश्यक मात्रा पुर्याएको थिए तब भगवान मुस्कुराउँदै भन्छन् तिम्रो अन्नवालीमा दाना पर्न जल,प्रकाश,वायु मात्रै नभई आवश्कता अनुसार अभाव र कठिन परिस्थिति जस्तै चम्कीलो घाम, पानी को अभावमा हुने खडेरी, तेज वायुको कारण हुने विनाश, किरा तथा फट्यांग्राको आक्रमण आदि को पनि सामना गर्नुपर्छ। तिमीलाई प्राप्त दिब्य शक्तिको कारण, तिम्रो अन्नवालीले त्यो कठिन अवस्थाको सामना गर्नु नपरेर, दाना परेन।

वास्तवमा, अभाव को सामना नगर्ने मानिसले जीवन बुझ्दैन। यस्ता व्यक्ति अभावमा आत्तिने र उपलब्धिमा मात्तिने खालका हुन्छन जसले सफलतालाई भौतिक तत्व संग मात्रै जोड्ने गर्छन। उनीहरु उही काल्पनिक कथाको किसान पात्र जस्तै हुन्।अभाव को अवस्थामा आफु भित्र रहेको कोयला, हिरामा रुपान्तरण हुने मौका पाएको बुझ्न नसक्ने व्यक्ति पछि गएर आफ्नो जीवनको चुनौतीलाई अवसर र अवसरलाई उपलब्धिमा परिणत गर्न सक्दैन। आफुले अहिले सम्म प्राप्त गरेको उपलब्धि लाई मुल्यांकन गर्नु पनि सफलता हो।

सत्ता र शक्तिमा टिक्नु मात्रै सफलता हो भने यस संसारमा कोहि पनि व्यक्ति सफल छैनन् किनकि एक पटक शक्तिको स्वाद चाखेको व्यक्ति, पछि शक्ति हिन तथा निवर्तमान हुनैपर्छ, यो प्रकृतिको नियम हो र जीवनको अर्को सत्य पनि। आफु शक्ति हिन हुनुपर्ने, मुकदर्शक बन्नुपर्ने, संसारको रंगमंच बाट टाडा बस्नुपर्ने यथार्थको बोध हुँदा पनि मानिस आफ्नो घमण्ड, वैमनस्यता , स्वार्थको त्याग गर्न सक्दैन। अनन्त:यस्ता व्यक्ति सफलताको अवमुल्यन गर्छन र जीवन भर शिकायत मात्रै गर्छन। यस कुरालाई समयमै सोच्ने कि ?

 

(लेखक पोखरा बिश्वबिध्यालय,व्यवस्थापन संकायमा उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ।)