काठमाडौं। पूर्व सांसद तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। उनी केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए। मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन्। उनले अमर आत्माको चीर शान्तिको कामना गर्दै उनको शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेका छन्। स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए भने नेपालको औद्योगिक क्षेत्रमा समेत एक सम्मानित व्यक्तित्व थिए।