कास्की । पोखरामा तराना म्युजिक सेन्टर संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरी संगीत कर्ममा सक्रिय श्रीमान् थुलुङ राईको स्कुटर दुर्घटनामा परि ज्यान गएको छ ।
५० बर्षिय राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर नहरमा खस्दा उनको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
बुधबार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा उनको स्कुटर दुर्घटनामा परेको बताइएको छ ।
नहरमा खसेका उनलाई पानीको भेलले बगाएको प्रहरीको भनाई छ । साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टा पछि साढे १० बजे दुई कुलाको मुहानमा भेटिएका थिए ।
उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमति भने सकुशल छिन् ।