कास्की । पोखराका क्रियाशिल पत्रकार ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेको आरोप प्रहरीले गिरीलाई लगाएको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखा लगायत पोखराका बिभिन्न पत्रकारका संगठन एबं पत्रकारहरुले पत्रकार गिरीको पक्राउप्रति विरोध जनाएका छन । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास ठगि प्रकरण समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा फिर्ताको माग गरेको छ।कृयाशिल पत्रकार महिला कास्की , अन लाईन पत्रकार संघ गण्डकी, जनपत्रकार संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्की, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी, मानव अधिकार पत्रकार संघ कास्की लगायतका संघ संस्थाले समाचारको विषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारबाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरी कारबाही गर्ने प्रवृत्तिको खेद प्रकट गरेका छन ।उनीहरुले विज्ञप्ति मार्फत पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग समेत गरेका छन ।
साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी परेको र त्यसैका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो विभागको आग्रहमा गिरीलाई समातिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डीएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।
‘हामीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट समातेर बुझाउन भने, हामीले समात्यौं। बाँकी अनुसन्धान केन्द्रले नै गर्ने डीएसपी गुरुङको भनाई छ ।
गत शुक्रवार पत्रकार गीरीले आफ्नो पत्रिकाको अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासविरुद्ध समाचार लेखेका थिए। जिल्ला प्रहरी कार्यालयमा बतासविरुद्ध जाहेरी दिन पुगेका पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई उद्धृत गर्दै उनले समाचार लेखेका थिए ।