पत्रकार गिरीको रिहाईको माग गर्दै जिप्रका कास्कीको गेट अगाडी पत्रकारको धर्ना

0
1015

कास्की ।पोखराका क्रियाशील  पत्रकार  अर्जुन गिरीको रिहाईको माग गर्दै कास्कीका  पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको गेट  अगाडी मंगलबार धर्ना दिएका छन् ।
साइबर क्राईम मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  सिआइबीको हिरासतमा रहेका पत्रकार गिरीको रिहाईको माग गर्दै कास्कीका पत्रकारहरुले धर्ना दिएका हुन् ।
समाचार लेखेकै कारण दर्ता भएको अनलाइनबाट समाचार प्रकाशित हुँदा पत्रकारलाई अवैधानिक तवरबाट झुटा मुद्दा लगाई हिरासतमा लिइनु गैरकानूनी कार्य  भएको नेपाल पत्रकार महासंघ कास्की शाखाका  अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । दर्ता भएको अनलाइनलाई दर्ता छैन भनेर गलत सूचना दिने प्रेस काउन्सिलका कर्मचारीलाई समेत उनले  कारवाहीको माग गरे ।
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगि विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार केन्द्रीय सिआइबीले पक्राउ गरेको थियो । बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।