“पत्रकारिता साइवर अपराध होईन सरकार ।”

0
930

कास्की। पोखराका क्रियाशील  पत्रकार   तथा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई सिआइबीले पक्राउ गरेको घटनाको विरोध गर्दै पोखराका सञ्चार माध्यमहरुले आज पत्रिकामा कालो पोत्ने, रेडियो र टिभीका प्रशारण रोकेका छन् । महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले मंगलबार विज्ञप्ती जारी गर्दै पोखराबाट प्रकाशित हुने सबै पत्रिकाले विरोध गर्दै सम्पादकीयमा कालो पोत्ने, टेलिभिजन र रेडियोले विहान ६ बजे देखि ९० सेकेण्ड प्रशारण रोक्ने, अनलाइनमा कालो स्कीप एड राख्न निर्देशन दिएको हो ।महासंघको विज्ञप्तीमा ताण्डव न्यूज साप्ताहिकका सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध अन्तर्गत मुद्दा पक्राउ पर्नु निन्दनिय भएको बताउँदै विनाशर्त पत्रकार गिरीलाई छोड्न पनि माग गरिएको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगि विषयमा समाचार प्रकाशित गरेका गिरीलाई सोमबार केन्द्रीय सिआइबीले पक्राउ गरेको थियो । बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।