आगामी पार्टी अधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्छ–देउवा

0
571

टीकापुर ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पार्टी अधिवेशनले आन्तरिक गुटबन्दीको अन्त्य गर्ने बताएका छन । नेपाल प्रेस युनियन लम्की टीकापुरले आज टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले  आगामी पार्टी अधिबेशन पछि आन्तरिक गुटबन्दी अन्त्य भई काँग्रेस एक हुनेमा जोड दिए ।  पार्टी भित्रैबाट आफ्ना विरुद्ध प्रचारबाजी भएको बताउँदै  देउवाले भने ,विरोध गर्ने मात्रै नभई जोसुकैलाई पार्टीको सभापतिमा चुनाव लड्न छुट हुन्छ  । ‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्ने मात्रै हैन पार्टीे सभापति लड्न पनि छुट छ । उनले भातृ संगठन अस्तव्यस्त बनेको प्रति सञ्चारकर्मीले सोधेको प्रश्नमा त्यस्तो अवस्था नभएको र चाँडै सुधार हुने बताए । आफ्नो पार्टीले संसदमा प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दे  उनले वर्तमान सरकारलाई निर्वाचनबाटै प्रतिस्थापन गर्ने काँग्रेसको सोच रहेको बताए । टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको देउवाको भनाई थियो । शाखाका सभापति देवानन्द न्यौपानेको अध्यक्षतामा  सम्पन्न, पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी र नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो । देउवा नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले टीकापुरमा निर्माण गरेको बि पि स्मृति भवनको उद्घाटनका लागि हिजो टीकापुर पुगेका हुन । उनले हिजै सो भवनको उद्घाटन गरेका छन ।