नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन । शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने दावि समेत गरे ।
पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिएर जाने उनको भनाई छ ।
देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिङ्को समेत भाँच्न नसकेको टिप्पणी गरे । ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिङ्को समेत भाँच्न सकेको छैन ।’ देउवाले भने, ‘सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’