काठमाडौं । नेपाल प्रहरी र मौसम पूर्वानुमान महाशाखाले पानीको उच्च बहाबका कारण तटीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ। महाशाखा र प्रहरीले शनिबार ट्वीटरमार्फत् पानीको बहाब बढिरहेको भन्दै सतर्क रहन भनेको हो ।
चितवन जिल्ला माडी नगरपालिका भएर बहने रिउ खोलामा बहाब उच्च बन्दै गएको प्रहरीले जनाएको छ । चितवन माडी स्थित बनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दवस्ती केन्द्रहरुमा पछिल्लो १२ घण्टामा १०० मिलिमिटर आसपास वर्षा भएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । अहिले पनि त्यहाँ वर्षा हुने क्रम जारी रहेको बताइएको छ।
केन्द्रले प्रदेश ३ र गण्डकी प्रदेशको चुरे तथा पहाडी क्षेत्रका स-साना खोलानाला र पहिरो क्षेत्रहरुमा भोलिसम्म नै सतर्कता अपनाउन भनेको छ। ठूला नदीहरु बागमती, नारायणी तथा यसका मुख्य शाखानदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी सेती, कालीगण्डकी लगायतमा भने जोखिम नरहेको केन्द्रले जनाएको छ।