तीजको साँस्कृतिक मर्म, बहश र विश्लेषण

२ भाद्र २०७६, सोमबार

सुमिता बस्नेत
तिजको रहर आयो बरिलै,………………….
मलाई तीजमा पूजा आराधना भन्दा पनि छमछमी नाच्न खूब मनपर्छ । हिजोआज प्रविधिले निकै सजिलो बनाइदिएको छ । यस्सो युट्युब खोल्यो, तिजको गीत बजायो छमछम नाच्यो, गजब आनन्द हुन्छ ।
सामाजिक सञ्जालमा तिजका बारेमा विभिन्न किसिमका बहसहरू देख्दा मलाई पनि केही लेखँु जस्तो लाग्यो । संस्कृत विद्यापीठका गुरुहरुसँग जिज्ञासा राखें र केहि जानकारी लिने मौका पाएँ । यसको ए्ेतिहासिकता अध्ययन गर्दा, हरितालिका शब्द संस्कृत भाषाको ‘आलि भि हरिता’ को नेपाली रुपान्तरण हो । जसको अर्थ ‘सखी वा साथीद्वारा हरण गरिएको भन्ने हुन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वतीको विवाह भगवान् विष्णुसँग गर्ने देवर्षि नारदको प्रस्ताव बाबु हिमालयले सहर्ष स्वीकार्दछन्् तर  पार्वती वाल्यकालदेखि नै महादेव शिवसँग विवाह गर्न चाहन्थिन् । विष्णुसँग विवाह हुनबाट रोक्न साथी विजयाले पार्वतीलाई हरण गरेर घना जङ्गलको एकान्त गुफामा लगेर राखिन् र पार्वतीले भाद्र शक्ल तृतीयाका दिनदेखि त्यसै गुफामा बसेर कठोर  तपस्या  शुरु गरीन् ।
तिजको सन्र्दभमा संस्कृत विद्यापीठका प्राचार्य नारायण सापकोटा भन्नुहुन्छ; तिजको परम्परा पार्वतीले आफ्नो शुक्ष्म शक्ति वा दैवि शक्ति   जागृत गर्न घना जंगलको एकान्त गुफामा हावा मात्र खाएर तपस्या प्रारम्भ गरेको दिनसंग जोडिएको छ । हाम्रो समाजमा हरितालिकाको दिन निराहार ब्रत बसे असल पति पाइन्छ, पतिको आयु लम्बिन्छ भन्ने प्रचलन छ तर पार्वतीले आफ्नो दैवी शक्ति  उद्बोधन गर्न स्वेच्छाले कठोर  तपस्या गरेकी थिइन् । निराहार व्रत बसेर असल पति पाइन्छ, पतिको आयु लम्बिन्छ भन्ने पुराणमा कतै उल्लेख  छैन । पार्वतीले कठोर साधनाद्वारा आफ्नो दैवी शक्ति उद्घाटित गरी, देवताका पनि देवता महादेव शिवलाई प्रभावित गर्न मात्र सफल भईनन् । उनले नारी  पुरुष समान हुन्, लोकमा दुबैको समान अस्तित्व हुनु पर्दछ भनी लोकमा नारीको अस्तित्व स्थापित गर्न शिवलाई ‘अर्धनारीश्वर’ (आधा अङ्ग नारी र आधा अङ्ग पुरुष) को रूप धारण गर्न समेत बाध्य पारिन् । हरितालिकाको दिन अर्धनारीश्वरको प्रतिमा बनाएर गरिने पूजा नारी पुरुष समानताको सन्देश होे । शिवजीले पार्वती पुत्र गणेशको बध गरेपछि  यात मेरो पुत्र जिवित गर या मसँग युद्ध गर भनी चुनौती दिएपछि मात्र शिवले गणेशलाई पुनर्जीवित गराएका थिए । पार्वतीले आफ्नो सम्पूर्ण ज्ञान र शक्ति दिएर पुत्र गणेशलाई सम्पूर्ण जगत्ले पुज्ने ‘नन्दन’ को उपाधि दिएर देवलोकमा मातृसत्ता स्थापित गरेकी थिइन् । देवताहरूमा अहङ्कार बढेपछि पार्वती ‘विद्युत’ रूपमा प्रकट भएर देवलोकमा नारी अस्तित्व कायम गरेकी थिइन् । पार्वतीले नारी अस्तित्व स्थापनार्थ गरेका  कठोर सङ्घर्षका थुप्रै प्रसङ्गहरू देवीभागवतमा उल्लेख गरेको पाइन्छ ।
परापूर्वकालमा देवी देवताको पूजाआरधना,  भजनकीर्तन गरी हरितालिका तिज मनाउने प्रचलन थियो । मध्ययुगमा समाज विकासको क्रमसँगै वालविवाह, बहुविवाह, अनमेल विवाह आदिका कारण महिलाहरूमाथि दमन, उत्पीडन र व्यभिचारपूर्ण व्यवहारहरू हुन थाले । महिलाहरू वर्षभरि कहीँ कतै जान पाउँदैनथे । चेलीलाई माइतीमा ल्याउने र मिठो मसिनो खुवाउने, वर्षभरिमा  एक जोर नयाँ लुगा पाउने, विवाह गरेर टाढा टाढा पुगेका दिदी बहिनी, साथी सङ्िगनी पाटी, पौवा र चौताराहरूमा नाचगान गरेर आफ्ना पीडा र वेदनाहरू पोख्ने थलो बन्यो तीज ।  महिलाहरु स्वतन्त्र र उन्मुक्त भएको अनुभूति गर्ने महान पर्व बन्यो तिज ।  छोरी चेलीहरू दिनभरि छमछमी निर्धक्क नाच्न सकून् भनेर बुवा दाजुहरूले अघिल्लो दिन राति दरिलो र अडिलो खानेकुरा खुवाउँदै जाँदा ‘दरखाने’ संस्कार बस्यो । महिलाहरुको राजनैतिक चेतना संगसंगै दुःख, पिडा र वेदना विसाउने चौतारा र पाटीपौहरु महिला मुक्ति र स्वतन्त्रताका आवाजहरु घन्काउने मोर्चामा परिणत भए । महिलाहरु सामाजिक तथा आर्थिक कार्यहरुमा  सक्रिय हुँदैजाँदा विभिन्न संघसंस्था र समुहमा आबद्धहुन थालेपछि माइतीघरमा  मनाइने तिज शहरतिर होटल र पार्टी प्यालेसहरुमा  पनि मनाउने चलन बढ्दै गएको छ । त्यससंगै तिज मनाउने प्रकृयाका बारेमा विभिन्न बहशहरु पनि चल्न थालेका छन् ।
तीज पर्व मनाइरहँदा पार्वती नारी शक्तिकी प्रतिक हुन् । नारीको शक्ति अपार छ, हामी कमजोर छैनौ भन्न्ो आत्मबोध गरौ., आफ्नो क्षेत्रमा पार्वती जस्तै कठोर साधना र सङ्घर्ष गरी अब्बल साबित हुने उर्जा ग्रहण गरौँ । असल पति पाउन र पतिको आयु बढाउन  निराहार व्रत बस्नु पर्छ भन्ने अन्धविश्वास त्यागौं । आफु सक्षम र योग्य बनौं,  समान क्षमता र स्तरको जीवनसाथीसंग मात्र सम्मानीत जीवन जीउन सकिन्छ । छोरीलाई शिक्षित, दृढ विश्वासी बनाऔँ, नारी शक्तिको पौराणिक महिमा र अस्तित्व उजागर गरौँ । सबै खाले भेदभाव, शोषण र उत्पीडनका जन्जिरहरू चुडाउँदै समृद्धितर्फ अगाडि बढ्ने हौसला दिने पर्वका रूपमा तीज मनाऔँ ।
तीजसँग जोडिएको अर्काे सन्दर्भ ‘ऋषिपञ्चमी’ हो । ऋषिपञ्चमीमा विधिपूर्वक सप्तर्षिको पूजा गर्नाले  रजस्वला ९ःभलकतचगबतष्यल० को समयमा अन्जानवश छोइछाई गर्दा हुने महापापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक मान्यता  पाइन्छ । वास्तवमा ऋषिपञ्चमी देह (शरीर) र आत्मा शुद्धिको उत्कृष्ट विधि हो । यो दैनिक गर्नुपर्ने नित्य कर्म हो । ऋषिपञ्चमीको पौराणिक कथा गजबको छ ! वृत्रासुरको हत्या गरी ब्रह्म हत्याको पापमा परेकाले भगवान इन्द्र   ब्रह्माजीसँग ब्रह्मदोषको निवारणको उपाय सोध्छन् । ब्रह्मले इन्द्रलाई उक्त पापबाट मुक्त गर्न त्यो पाप अग्नि, जल, पर्वत र स्त्रीलाई बाँडिदिन्छन् र रजोदर्शन ९ःभलकतचगबतष्यल० को समयमा स्त्री पहिलो दिन चण्डाल्नी (ज्यादै निच र घृणित) दोस्रो दिन ब्रह्महत्यारी (कैदी) र तेस्रो दिन धोविनीको रूपमा रहनु पर्नेछ भनी इन्द्रको पाप महिला माथि थोपर्छन् । त्यसपछि रजस्वलाको समयमा महिलालाई अपवित्र र अछुत भएर वस्न  बाध्य पारिन्छ  । पवित्र कार्यमा सहभागी हुन  सातदिन सम्म कुर्नु पर्दछ । महिलाका लागि महिनामा २४ दिन, बर्षमा २८८ दिन अर्थात् वर्षमा करिब साढे नौ महिना मात्र छन् भन्दा फरक पर्दैन । के यसमा महिलाको कुनै दोष छ ? के यसको कुनै वैज्ञानिक आधार छ ?  यस्तो अन्धविश्वासी परम्परालाई किन मानिरहने ? यो निर्दाेष महिला माथि थोपरिएको अनुचित दोष मात्र हो । वैज्ञानिक दृष्टिकोणबाट पनि रजस्वला सृष्टिको सुन्दर शुभारम्भ हो, महत्वपूर्ण उत्सव हो । त्यसैले घरघरमा रहेको छोइप्रथा (छाउपडी) लाई अब सबैले मिलेर अन्त्य गरौँ । यसले छोरीहरूको आत्मबल दह्रो बनाउँदैन, आत्मसम्मान बढाउँदैन झन कमजोर र अपहेलित महशुश गराउँछ ।  रजस्वलाको समयमा सरसफाई गनर्, राम्रोसँग प्याड प्रयोग गर्न सिकाऔँ, पोषिलो खाना र आराम गर्न लगाऔँ । धर्म, संस्कार र संस्कृतिहरु मनाइरहँदा यसले महिलामाथि पारिहेको नकारात्मक असरहरुबारे सचेत बनौं । महिलाको आत्मसम्मानमा चोट पु¥याउने विकृत र अन्धविश्वासी संस्कारहरुलाई हटाउने साहस गरौं । राम्रा संस्कारहरु संरक्षण र संबर्धन गरौं ।
हिजोआज तीजको सन्दर्भलाई लिएर शहरतिर हुने खाने र हुँदा खाने बीचको जस्तो, सत्ता पक्ष र प्रतिपक्षको जस्तो वहस चलेको छ ।  चाडपर्व र संस्कृतिहरू  सबैका साझा सम्पत्ति हुन् । सबैले सहज रूपमा समानानुभूति पूर्वक, सौहार्दता र आत्मीयता साथ मनाउने वातावरण हुनु गर्नुपर्दछ । जनमानसमा चाडपर्वहरु बोझिलो हुँदै गएको  र कतिपय परिस्थितिले अभावमा रहनेहरूलाई हिनताबोध गराइरहेको अनुभूति गरेको पनि पाइन्छ । धेरै अघिदेखि टिकट नै किन्न बाध्य पारेर दिदि बहिनीबीच गहना कपडा लगाउने प्रतिस्पर्धा जस्तो गरी तीज मनाउँदा  धेरैले नैतिक दवाव महसुस गरिहेको पाइन्छ । तथापी विभिन्न संघसंस्था र समुहमा आबद्ध दिदि बहिनीहरु मिलेर सामान्य खर्चमा, कसैलाई करकापमा नपारी, तिजको साँस्कृतिक मर्म झल्किने गरी नाचगान गरी होटल र पार्टी प्यालेसहरुमा रमाइलो गर्नुलाई स्वभाविक मान्नु पर्दछ ।
समृद्ध समाज निर्माणका लागि राजनैतिक परिवर्तन सँगसँगै परिष्कृत संस्कृति चाहिन्छ । सामाजिक रुपान्तरण सहितको प्रगतिशील र जनपक्षीय वा जनहतिकारी संस्कृतिहरूको स्थापना गर्न साँस्कृतिक क्रान्ति आवश्यक  छ । पितृसत्तात्मक संरचनाले निर्माण गरेका हाम्रा अधिकांश संस्कृतिहरू महिलाको आत्मसम्मानमा चोट पु¥याउने र महिला सशक्तिकरण  बाधक छन् । त्यसैले महिलाका लागि साँस्कृतिक क्रान्ति अपरिहार्य छ। उपभोक्तावादी संस्कृति हावी हुँदै गएकाले समाजमा विभन्न किसिमका विकृतिहरु बढिरहेको छ ।  आर्थिक बृद्धिदर पहिलाको तुलनामा सकारात्मक दिशा तर्फ उन्मुख छ तैपनि ९७ प्रतिशत व्यापार घाटा छ । साठी लाख यूवाहरूले विदेशी भूमिमा बगाएको रगत र पसिनाको रेमिट्यान्सले हाम्रो अर्थतन्त्र धानिएको छ । चाडपर्वहरूलाई अनावश्यक खर्चिलो र भड्किलो बनाउँदा  व्यापार घाटा बढ्दै जान्छ ।  हाम्रो राष्ट्रिय उत्पादन शून्यप्रायः छ । त्यसैले यूवाहरूले विदेशमा रगत पसिना बगाएर कमाएको आम्दानी सिधै विदेश पठाउनु भन्दा राष्ट्रिय उत्पादनमा लगाऔं र हाम्रो अर्थतन्त्रलाई सम्वृद्ध बनाऔं । सामाजिक रुपान्तरण र जनपक्षिय ढंगले संस्कृति मनाऔं । दर कसैका लागी कर नबनोस् । तिजको संस्कृति झल्किने लोकभाकाका गीत संगितको जर्गेना हुने गरी छमछमी नाचेर, गाएर, माया ममता साटेर, सामाजिक सम्बन्धहरू बलियो हुने गरी सभ्य र भव्य किसिमले तिज मनाऔं ।

Leave a Reply