गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को ब्लाइन्ड अडिसनमा पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इजिनियरिंग अध्ययनरत अनुशा आचार्य चयन भएकी छिन । शुक्रबार सार्वजनिक गरिएको ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को एपिसोड नम्बर ५ मा उक्त प्रस्तुति प्रस्तुत गरिएको छ ।
प्रतियोगिताको ब्लाइन्ड अडिसनको क्रममा अनुशाले बच्चु कैलाशका एकदमै चर्चित गीत “टाढा टाढा जानु छ साथी” प्रस्तुत गरेकी छिन । ब्लाइन्ड अडिसनमा अनुशाले कोच राजु लामालाई आफ्नो आवाजले प्रभावित पार्दै कुर्सी घुमाउन सफल भएकी छिन । यसै संगै अनुशा आगामी यात्राका लागि प्रतिस्पर्धीको रुपमा छनौट भएकी छिन र छिटै नै ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछिन् ।
को हुन अनुशा आचार्य ?
सन् २००० मार्च १ मा पाल्पामा जन्मिएकी अनुशा आचार्यले कक्षा ६ देखि गीत गाउन शुरु गरेकी थिईन । अनुशाले क्लासिकल, ज्याज लगायत बिभिन्न विधाका गीतहरु गाउने गरेकी छिन । सेन्ट जेभियर्सबाट एस.एल.सी तथा १०+२ बिज्ञान तर्फ उतिर्ण गरेकी अनुशा हाल पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिंगमा स्नातक तहको दोश्रो बर्षमा अध्ययन गर्दै छिन । उनले लिओ क्लब लगायत पुल्चोक क्याम्पसका बिभिन्न क्लबका कार्यक्रमहरुमा सक्रिय रुपले सहभागिता जनाउने गरेकी छिन ।
उनले क्लासिकल संगीतको साधना र ज्ञान सुरशाला म्युजिक एकेडेमीका गुरु अमृत क्षेत्रीसंग लिएकी थिईन भने वेस्टर्न ज्याजको सिकाई काठमाडौं ज्याज कन्जरभेटरीका स्प्यानिश गुरु मारिया फजारडोसंग लिएकी थिईन । हालसम्म उनले दुईवटा ओरिजिनल गीत र थुप्रै कभर गानाहरु गाइसकेकी छिन । उनले हालसालै गएको साझ परेपछिको कभर गीतले युट्युबमा निकै राम्रो भिउज समेत प्राप्त गरेको छ ।