बोष्टन (अमेरिका) । नेपाली मुक्तक विधामा लामो समयदेखि क्रियाशील कवि रमेश पौडेलद्वारा सम्पादित ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ हालै अमेरिकाको बोष्टनमा सार्वजनिक गरिएको छ । सो कृतिमा अघिल्लो पुस्ताकी मुक्तककार उषा शेरचनदेखि समकालीन पुस्ताकी निर्मला कुँवरसम्मका गरेर २४६ जना नारी प्रतिभाको परिचय सहित ४–४ वटा मुक्तक समाविष्ट छन् ।
साहित्य सम्मेलका प्रमुख अतिथि कुलपति उप्रेतीले कवि पौडेलद्वारा सम्पादित कृति नेपाली मुक्तक साहित्यमा मानक कृतिका रुपमा आएको बताए ।
सो कृतिमाथि समालोचकद्वय प्रा.डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले समालोचकीय टिप्पणी राखेका छन् । सम्पादक मुक्तककार पौडेलले आफ्नो अढाई दशकको मुक्तक मोह र सीप यस कृतिमा खन्याएको बताए ।
गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले प्रकाशन गरेको सो कृति संघको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा गरिएको थियो । पञ्चकन्याका साथमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका अतिथिहरूले उक्त कृतिको संयुक्त विमोचन गरेका थिए ।