नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गरेका छन्।
आइतबार साँझ देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरुको छलफलमा देउवाले ढुंगानाको नाम प्रस्ताब गरेका हुन्। सभापति देउवाले १ वर्ष भित्र महाधिवेशन गर्ने गरी संयोजकमा ढुंगानालाई ल्याएर अन्य नाममा सहमति गर्न सकिने प्रस्ताब अघि सारे। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले भने संयोजकमा मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए। आचार्यको नाममा देउवा सहमत नभएपछि पौडेलले ६ महिनाभित्र महाधिवेशन गर्ने र केन्द्रीय समिति तथा पदाधिकारी कति संख्या हुने भन्ने विषय टुंगो लगाउनुपर्ने बताएका थिए।
स्रोतका अनुसार सभापति देउवाले अध्यक्षमा ढुंगानाको नाममा सहमति गरी महामन्त्री तीन जना राख्ने र त्यसमा पौडेल पक्षबाट एकजना, कृष्णप्रसाद सिटौला पक्षबाट एकजना र आफ्नो तर्फबाट एकजना राख्ने प्रस्ताव गरेका थिए।
पौडेल पक्षले नेविसंघमात्र नभई पार्टीका अन्य भ्रातृ तथा शुभेच्छुक संगठनका साथै पार्टीका विभाग लगायतको प्याकेजमै टुंगो लगाउन प्रस्ताव गरेका थिए।
नेविसंघका अध्यक्ष नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएपछि २०७५ माघ २ गतेदेखि संघ नेतृत्वविहीन अवस्थामा छ।