चिन्ता ! कर्तव्यबोधको ।

0
1831

केदार कुँवर

आज भोली म आफ्नो उमेर ढल्किदै गयकोमा तेति चिन्तित हुँदिन जति जिम्मेवारी बढेकोमा हुन्छु, किनकी पहिला पहिलाका हरेक समस्याहरूको समाधान बुवा बाट नै सल्लाह बमोजिम लिने गर्थे तर समयको खेल बुवाको उमेरले चार बिस को रेखा काट्यो अनि मनभरीको भारी बिसाउँनका लागी केहि सल्लाह माग्न बुवाको समिपमा पुग्दा देश प्रदेश घुमेको छोरो, आफ्नो खुट्टामा उभिन सक्ने भयको मुन्छे, दुनिया दारी जानेको बुझेको मुन्छे, राम्रो नराम्रो सहि गलत छुट्याउन सक्ने भइ सकिस् नि अब, यो डुब्ने बेलाको घामले के सल्लाह दिने र खै हेर बाबु ? पहिला हाम्रा पालाको जस्तो जमाना रहेन अब बाबु भन्दा, यो मन कम्ति भारी त हुन्न ? र पनि म कोशिष गर्छु मेरो समस्याको समाधान बुवाबाट केहि हद सम्म मिल्नेमा ।

हुन पनि बुवाले सायद ठिकै भन्नु भयो होला तर बुवाका ति अभिव्यक्तीहरूले यो मन अरू बोझिलो हुन पुग्यो र सम्झिन पुगें मेरो पारिवारिक पृष्ठभुमि अनि आज भोली आमाको बिग्रिँदै गएको स्वास्थ्य अवस्थाको बारेमा, म प्रदेश हानिन थाले देखि आमाको स्वास्थ्यमा अरू असर परिरहेको मैले महशुष गरेको छु, सायद बुवाको मनमा मेरा लागी अनेकौं गुनासा होलान्, म बुवाको गुनासा सुन्न नखोजी आफ्नै समस्या पहाड सम्झी बुवा सँग सल्लाह लिन पुग्नु भनेको मेरो स्वार्थी पन रहेको कता कता महशुष गर्छु । सायद बुवालाइ लागेको थियो होला यत्तिका समय पछि प्रदेश बाट स्वदेश आएको छोरो मेरा समस्या, पिडाहरूको घाउमा मलम लियर आयो होला, अब यतै हामी बुढा बुढीको बुढेस कालको साहाराको रूपमा सधै भरि हाम्रै काखमा बस्ने गरि आयो होला कि भन्नेमा तर कुरा विपरित भयो मैले उहाँको मनोभावना नै नबुझी मेरा समस्याहरूको पोको खोलें र समाधानका लागि सल्लाह मागें तर मैले सोचे अनुसारको सल्लाह सुझाव नपाय ता पनि म समालियर फर्कन बाध्य भयँ मन भारी बनायर।

तेसपछि म मन बोझिलो पार्दै यस पालीको छुट्टी पनि यसै गयो भन्ने कुरा खेलाउँदै फेरी पुरानै दैनिकीमा प्रदेश तिर नै फर्के, म गत साल घर बिदामा गयर आय पश्चात् आमाको स्वास्थ्य अरू बिग्रदै गइरहेको मैले बुझेको छु, हरेक आमाहरू आफ्ना सन्ततीहरू सदा सर्वदा आफ्नै वरिपरी रहुन् भन्ने चाहन्छन् हो मेरी आमा पनि यहि चाहानुहुन्छ उहाँको समिपमा म नरहँदा अरू वेदनाको महशुष गर्नु भएको छ र यसको असर उहाँको स्वास्थ्यमा परेको छ मैले बुझेर पनि बाध्यता र विविध कारणहरूको बाहानामा अबुझ बनिरहनु परेको छ मलाइ र तेसैले यसपाली नि सधैंका लागी आयँ आमा भनेर भन्न पनि सकिन मैले, आमाको वेदना बुझ्न सकिन मैले, के गर्नु मानविय चोला भावुकताले खान पुग्दो रहनेछ, कर्म गर्नै पर्ने रहेछ, कर्म गर्ने बहानामा परदेश तिर भासिनै पर्दो रहेछ।

प्राय जसो बुवा आमा सँग तिन चार दिनमा कुरा गरिरहने म आज भोली एक दिन बिरायर फोन सम्पर्क गर्न खोज्छु, बुवा सँग व्यावहार लगायत आमाको स्वास्थ्यका बारेमा गन्थन गर्छु भने, आमा सँग स्वास्थ्य कस्तो छ, औषधी समयमा खाए नखाएको, औषधी बाँकी रहे नरहेको, नियमीत जाँचका लागी जाने विषयका बारेमा गन्थन गर्छु र कहिले कुराकानी हुन्छ, कहिले हुँदैन, होस् पनि कसरी मेरो यहाँको समय र तेहाँको समय फरक छ अनि उहाँहरूको उमेर सँगै कानले फोन बजेको पनि सुन्न छाडे होलान, आखाले मिस कल पनि चिन्न सकेन होलान् अनि सोच्दा होलान् हाम्रो छोरा निर्दही रहेछ भनि ।

आज बुवा आमासँग फोनमा केहि समय कुरा गरेपछि बोझिलो भएको मनलाई बिसाउन नसकी श्रीमती सँग गफ गरि हलुका हुन खोजेको थियँ, श्रीमतीले आमा सँग कुरा गरेको भेउ पाइछन् कि कसो कुन्नि? ‘हजुरको आमा त्यत्तिकै आत्तिनु हुन्छ’ भनेर उनले मेरो मनभित्रको बोझ हलुका गराउन खोजिन् । र तेसपछि मेरो प्रतिउत्तर सुनेर उनि मौन रहिन् र उनलाइ पनि कता कता महशुष भयो होला एउटी आमाको पिडा किनकी उनि पनि आमा नै हुन्, सायद त्यस्तो अनुभवको अन्दाज उनले पनि गरेकी होलिन्, सन्ततिबाट टाढा रहँदाको पिडा आदि इत्यादी ।

बुवालाइ पनि घुँडा दुख्ने रोगले दुख दिन थालेको गुनासो सुन्ने गर्छु र सधै भन्ने गर्छु राम्रो डाक्टरको मा गयर औषधी लियर खानु भनेर अनि मेरो बोलीलाइ नकार्न नसकेर हुन्छ त भन्नु हुन्छ बुवा र पनि घुँडा दुखेको केहि विसेक भयको खबर कहिल्यै सुन्न पाउँदिन म अनि मेरो मनमा अनेक थरि कुरा खेल्न थाल्छन् र काँडा भयर मुटु भरि घोच्न थाल्छन् तै पनि म भित्र वेदना लुकायर बाहिर हाँस्न् बाध्य हुन्छु अनि मन मनै प्रश्न उब्जन्छ कि मेरो काँधमा रहेका अन्य जिम्मेवारी पुरा गर्दै गर्दा एक पुत्र हुनुको जिम्मेवारी निभाउन के कोशिष गरें ? वा केहि गर्न नसक्ने हुँ कि भन्ने अदृश्य पिडा र चिन्ताले जरा गाडेको अनुभव हुँदा मन नै अमिलो बन्न पुगेको महशुष हुन्छ र पनि समालिने कोशिष जारी राख्छु, भोली बुवा आमाको सेवा गर्ने आशामा।

बाबु आमाले सन्तानको कुभलो कहिल्यै चाहँदैनन्, किनकी बाबु आमा त्यस्ता महान् व्यक्तित्व हुन् जसले सन्तानको आखामा खुशि देख्दा खुशि हुने सन्तान भन्दा आफुहरू चौगुना खुशि भयका हुन्छन् र पनि कहिले काहीं, कहीं कतै आफुले सोचे जस्तो, आफु अनुकुल जवाफ, सहयोग नमिल्दा बाबु आमाहरूले माया गरेनन् भन्ने आभाष हरेक सन्ततीमा हुने गर्छ म पनि कहिंले काहीं सोच्ने गर्छु किन बुवाले मैले जे सोचें त्यसको ठिक विपरीत जवाफ दिनु हुन्छ भनेर तर म आफ्नो कर्तव्यका बारेमा कहिल्यै हेक्का राखेको वा नराखेको बारेमा ध्यान दिंदिन हुन त म मात्रै होइन हरेक सन्तानले यो सोचेका हुँदैनन् अनि लाग्छ यो सबै वर्तमान आधुनिक अस्थ ,व्यस्त जिवन शैलीको कारक नै हो भन्नेमा, म कति सजिलै यस्तो सोचेर आफ्नो कर्तव्य विमुख हुन सक्छु भनि पुन सोच्न बाध्य हुन्छु र कहिले काहीं टोलाउने गर्दछु अनि चिन्तीत रहने गर्दछु र पनि समालिन बाध्य हुन्छु ।

नेपाली चलन चल्तीको उखान कि पढेर जानीन्छ, कि परेर जानिन्छ भने झै म पनि धेर थोर पढें पनि मेरो बुवाले परेर धेरै कुरा जान्नु भएको छ भनि उहाँ सँग समस्याहरू समाधानका लागी परामर्श लिनुमा गर्व गर्ने गर्थे, तर यसपाली कुनै समाधान बिना नै बोझीलो पन महशुष गरेको मेरो मनलाई समाल्न निकै कठिन भइरहेको छ र चिन्ताको विषय बन्न पुगेको छ । अब यो चिन्तीत मनलाई कसरी समाल्ने, बुवा र मेरो दुरीलाइ कसरी घटाउने, बुढेस कालको साहरा कहिले दिनें, आदि इत्यादी प्रश्नहरूको चाङले मेरो मनमा अखडा बनाइ सकेको छ।

म परदेशबाट हरेक घर बिदामा स्वदेशमा रहेको बखत विभिन्न वृद्दाश्रमहरू, मानव सेवा आश्रमहरूमा संभव भय जति ठाउँमा पुग्ने कोशिष गर्छु, मेरा बुवा, आमा जस्ताहरू वृद्दाश्रमहरूमा देख्दा उहाँ हरूको पिडारूपि कथाहरू सुन्दा मेरो मन मुटु कापेर आउँछ र समय सकियको पत्तो पाउँदिन अनि उहाँ हरूको सन्तानको पात्रको रूपमा आफैलाइ उभ्याउँन पुग्छु र आफ्ना बुवा, आमा प्रति आफ्नै कर्तव्य के रह्यो भनि जिन्दगीलाइ नियाल्न खोज्छु र अनि पुन चिन्तीत हुन्छु, सोचें जस्तो मेरो जीवन बन्न नसकेकोमा, मेरो ध्येय कर्तव्यपथमा पुग्न नसकेकोमा।

समयको बहाब सँगै मेरो छुट्टि सकिन्छ र अनि पार्सपोर्ट,झोला साथमा भारी मन बोकी अब लामो समय परदेशमा नबसी छिट्टै फर्कने झुट्टो आश्वासनका साथ, पुन फेरि भेट्ने वाचाका साथ बुवा आमाको आशिर्वाद लिइ प्रियजनहरूको माया,सद्भभाव छाति भरि सजायर, जन्मघर, जन्म गाउँ, जन्म ठाउँ, भिर पाखा पखेरा, जन्म भुमि नेपाल आमाबाट धेरै धेरै टाढा सात समुन्द्र पारिको देश तिरको यात्रामा निस्कन्छु अदृष्य सुनौलो भविष्यको कल्पनाका साथ वर्तमान जीवनलाइ अस्त व्यस्त बनायर !

kcskunwar@gmail.com

हाल (संयुक्त अरब इमिरेट्स, दुवई) ।