शुक्रबारदेखि पोखरामा लिटरेचर फेस्टिबल

0
893

आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरा, बाराहीघाट लेकसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

आयोजक संस्था बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिबलका अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिए । ‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो,’ उनले भने, ‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं ।’

४ दिनसम्म चल्ने फेस्टिबलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए । ‘फेस्टिबलमा अन्तर्राष्ट्रिय लेखकहरुलाई पनि ल्याउन लागेका छौं । त्यसले यहाँको साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेका छौं,’ उनले भने । फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ ।

फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फाउन्डेसन निर्देशक बरालले तत्कालीन समयमा काठमाडौंमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै फेस्टिबल भएको सुनाए । उनले भने, ‘भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेका थियौं । तर, अहिले पोखरा नै उत्तम ठाउँ भएको छ । यो पोखरेलीको पनि महोत्सव हो ।’

फेस्टिबलको अर्का आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे । ‘फेस्टिबलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन् । त्यसले पनि हामीलाई अपन्वत्व महसुस भएको छ,’ उनले भने, ‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीविलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं ।’

नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको रुपमा आएको व्हाट द बुक क्लबका उपाध्यक्ष अनिशा बराइलीले बताइन् । महोत्सवले पोखरालाई छुट्टी मनाउन आउने शहरमात्रको परिचयबाट माथि उठाएर साहित्यको केन्द्र बनाएको बताइन् ।