जोगाई राखौँ स्तन सौन्दर्य
निरू के.सी.
एउटा रेडियो कार्यक्रममा गाउँखाने कथाको प्रश्न सोधिएको थियो ” बच्चाको खाना,श्रीमानका खेलौना,श्रीमतीका गहना के हो ? ” सहि जवाफ कसैबाट आएन,अन्त्यमा उद्घोषकले नै सहि जवाफ बताए “स्तन” भनेर । उत्तर सुनेपछि एकछिन सन्न भएँ । स्तनको अपार महत्त्वबारे धेरै बेर घोत्लिएँ अनि यस सम्बन्धी विभिन्न अनुसन्धान गर्न थालेँ । निचोड स्वरूप स्तनको महत्त्व र सौन्दर्यलाई जोगाउने केही उपयोगी टिप्सहरू तयार गरेकी छु ।
स्तनपायी प्राणीका पोथी जातिहरूमा दुई वा दुई भन्दा बढी स्तनहरू रहेका हुन्छन् । सन्तान उत्पादन पछि जीवनदानका लागि प्रकृतिले नै स्तनको विकास गरी तरल दुग्ध पदार्थ भरिदिएको हुन्छ । मानव जातिका स्त्रीमा भने स्तनको महत्त्व पृथक छ । सन्तानलाई जीवनदान सँगै स्त्री सौन्दर्य र यौनजीवनमा समेत स्तनको उल्लेख्य भूमिका रहन्छ । आकर्षक स्तनले यौवन झल्किन्छ भने जस्तो सुकै पोसाक लगाए पनि चिटिक्क सुहाउँछ । हाम्रा धार्मिक,पौराणिक तथा साहित्यिक काव्यहरूमा समेत सुन्दर स्तनको चर्चा र महिमा वर्णन गरिएको पाइन्छ । गहिरो नाभिस्थान,शङ्खजस्तो गला,छिनेको कटी,उँचा र पुष्ट स्तनको चर्चा सुन्दर युवती तथा अप्सराहरूको वर्णनमा पाइन्छ । हुन त कसैको स्तनको आकार प्रकार र बनोटमा मानिसको हात हुँदैन, यो त प्रकृति प्रदत्त बहुमुल्य गहना हो । यद्यपि आफ्ना स्तनहरू र सौन्दर्यलाई चीरकालसम्म जोगाइ राख्न र आकर्षण बढाउन भने केही उपायहरू अपनाउन सकिन्छ ।
स्त्री सौन्दर्यको चर्चा गर्दा ज्यादा साना वा ज्यादा ठूला,तल लत्रिएका,कोखातिर फर्किएका,एउटा सानो र अर्को ठूलो भएका स्तन नराम्रा मानिन्छन् । त्यस्तै स्तनभन्दा पेटको भाग बाहिर निस्केको शरीरलाई राम्रो मानिदैन । पेट, छाती,कटीको भाग एकनासले समतल भएको घ्याम्पो जस्तो शरीर पनि राम्रो देखिदैन । ठिक्क उचाइ,उठेका स्तन,बारुले कम्मर,केही फुकेको कटी स्त्रीशुलभ आकर्षक कद मानिन्छ ।
विशेषगरी सन्तान जन्माएपछि स्तन तथा पेटको आकार प्रकार र सौन्दर्यमा व्यापक गिरावट आउने हुँदा यसै अवस्थामा केही उपयोगी कुरामा ध्यान पुर्याउँदा जीवनभर पछुताउनु पर्दैन ।
शिशु जन्मेपछि उसको प्राण रक्षार्थ आमाको स्तनबाट दूध बग्न थाल्छ । सौन्दर्य बचाउनको खातिर शिशुलाई स्तन नचुसाई पाउडर दूध या ल्क्टोजिन खुवाउनु चाहिँ घातक र भ्रामक बुझाइ हो । बच्चालाई दूध चुसाएर स्तनको सौन्दर्य गुम्दैन बरु स्तन क्यान्सर जस्ता रोगबाट बच्नको साथै जन्मान्तरलाई पनि बढाउन मदत पुग्छ । तसर्थ निश्चित समयसम्म बच्चालाई स्तनपान गराएर आफ्नो मातृधर्म पुरा गर्नुपर्छ । स्तनपानसँगै सन्तानलाई स्वस्थ निरोगी राखी आफ्नो सौन्दर्य कायम राख्ने केही टिप्स चाहिँ अपनाउनु पर्छ ।
१.बस्त्र : स्त्री जातिले पहिरिने गोप्य अङ्गका बस्त्रहरूले स्वास्थ्य र सौन्दर्यमा अहम् भूमिका खेलेको हुन्छ । तसर्थ उपयुुक्त किसिमको बस्त्रको छनोट गर्नुपर्छ । केटीहरूमा विशेषगरी १० देखि १४/१५ वर्षको उमेरमा स्तनको वृद्धि हुन थाल्छ । पहिले ससाना गिर्खा जस्तो डल्लो बढ्दै मांसपेशीको वृद्धि र विकास हुन थाल्छ । यस्तो वेलामा उनीहरू डराउने, लजाउने भयभीत हुने गर्छन् । आफूमा आएको परिवर्तनलाई लुकाउन बाक्लो र कसिलो लुगा लगाउन खोज्छन् । कसिला बस्त्रले मांसपेशीको विकासमा रोकावट ल्याउँछ । परिणामस्वरूप मांसपेशी आवश्यक मात्रामा बढ्न पाउँदैनन् । कसिलो लुगाले स्वासप्रस्वास,रक्तसञ्चार प्रक्रिया र अन्य विकासमा पनि समस्या पर्छ । दैनिक कृयाकलाप गर्न पनि कठिन हुन्छ । यसकारण यो उमेरमा हलुका,सजिला बस्त्र लगाउनुपर्छ र लगाउन दिनुपर्छ ।
२.गर्भावस्थामा रेखदेख : स्तनको जतन गर्नुपर्ने विशेष अवस्था भनेको गर्भावस्था र सुत्केरी अवस्था हो । गर्भावस्थाका प्रथम महिनादेखि नै स्तनको आकार वृद्धि हुन थाल्छ । यो समयमा पनि कसिलो लुगा लगाउनु हुदैन । छालामा चिलाउने खालका खस्रा,बाक्ला ब्रा लगाउनु हुदैन । कटनबाट बनेका नरम ब्रा लगाउनुपर्छ । यस समयमा शरीर ज्यादै कोमल हुने हुँदा स्तन,पेट तथा साँप्रामा कन्यायो भने पछि गहिरा धर्सा बस्ने हुँदा नङले कन्याउनु हुदैन । चिलाउने समस्या आउन नदिन स्किन एलर्जी हुने खालका खाना खानु हुँदैन । त्यस्तो वस्तुको नजिक जानु हुदैन । पसिना र घमौराबाट वच्न बारम्बार नुहाउनुपर्छ । यो समयमा कसै कसैको स्तनको मुन्टामा कालोपोतो आउन सक्छ । सुत्केरीपछि त्यो हराउँदै जान्छ । यद्यपि सुत्केरी हुनु पुर्व नै स्तनको मुन्टाहररू नरम कपडा र मनतातो पानीले रगडेर कालो फाल्ने तथा दुधका नलीहरू सफा गर्नुपर्छ । सुत्ने वेलामा ब्रा खोल्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
३.सुत्केरी अवस्थामा स्तनको स्याहार :
बच्चाको जीवन भन्दा आफ्नो सौन्दर्य ठूलो कुरा होइन ।तसर्थ तपाईं स्वस्थ हुनुहुन्छ भने बच्चा जन्मेको केही बेरमै उसलाई आफ्नो दूध चुसाउनु पर्छ । प्रकृतिले हामीलाई आफ्नो बच्चा जन्माउने र उसलाई पुग्ने अमृततुल्य दूध दिएको हुन्छ । त्यसैले ढिलाइ नगरी बारम्बार बाक्लो बिगौती दूध बच्चालाई खुवाउनु पर्छ । स्तनपान गराउँदा स्तनपानका केही नियम पनि पालना गर्नुपर्नेछ । स्तनको निप्पल सानो भएर बच्चाले दूध चुस्न नसकेमा,दूध जमेर नली बन्द भई स्तन गान्निएमा चिकित्सकलाई भेट्नु पर्छ । यस्तो भएमा कसैको शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । बच्चालाई पर्याप्त दूध पुग्नको लागि आमाले माछा,मासु,मेथी,ज्वानो अादिको झोल प्रशस्तै खानुपर्छ । दूध बढी भएर बच्चाले दूध नसकी स्तन गानिने,सुन्निने,गिर्खा बस्ने,चर्किने भयो भने झोल खान कम गर्नुपर्छ । कतिपय महिलामा माथिका समस्या आइपर्दा जथाभावी दूध दुहुने,निचोर्ने,पम्प लगाउने गरेर स्तनको सौन्दर्य गुमेको हुन्छ । यसकारण दूध बढी भएमा अरूका बच्चालाई चुसाउने र झोल कम खानुपर्छ । सुत्केरी पछि दुधको प्रयाप्तताको कारण स्तन झाँट्टिने,तल लत्रिने र छाला तन्किने हुन्छ । जसको कारण पछि स्तनको मांसपेशी झुन्डिएको देखिन्छ । यस्तो हुन नदिन साइज अनुसारका ब्रा लगाइराख्नु पर्छ । उत्तानो परेर सुतिरहनु हुँदैन । दूध चुसाउँदा दुवै स्तनको दूध बराबर चुसाउनु पर्छ नत्र पछि एउटा स्तन ठूलो एउटा सानो हुन्छ । सुत्केरी अवस्थामा ज्यादा पोसिलो खाना खाने,आराम गर्ने ,काम कम गरिने हुँदा कसरत पनि कम हुन जान्छ । शारीरिक तौलसँगै स्तनको आकार पनि ज्यादै बढ्न गयो भने विचार पुर्याउन पर्छ नत्र तौल घटेपछि स्तनको छाला ज्यादै झोल्लिन्छ।
४.कसरत : शारीरिक सुगठन र फिटनेसका कुरा महिलामा पनि उत्तिकै आवश्यक छ । हाम्रो शरीर तथा पेटमा अनावश्यक बोसो जम्मा भई मोटोपन बढ्न गएमा सौर्न्दर्यमा ह्रास आउँछ । पेटको मासु ज्यादा बढ्न नदिई स्तन उँचा देखाइ राख्न नियमित शारीरिक व्यायाम गर्नुपर्छ । शरीर दुब्लो भएमा पनि खानपिनमा विचार पुर्याई व्यायाम ,योगा जारी राख्नुपर्छ । ५.पहिरन : पहिरनले व्यक्तिको सौर्न्दर्य र व्यक्तित्वलाई झल्काउँछ । राम्रो महंगो र फेसनको लुगा भन्दैमा आफ्नो आङमा नसुहाउँने लुगा लगाउन हुदैन । शरीरको बनावट अनुसार पहिरनको छनोट गर्न सकिएन भने इज्जत र सौन्दर्य बढ्नुको सट्टा घट्न जान्छ । तसर्थ आफ्नो शरीर तथा स्तनको आकार,प्रकार,बनोट अनुसारको लुगा छनोट गर्नुपर्छ । नेकको भाग कम काटिएको वा धेरै काटिएको,कम्मरको भाग टाइट वा खुला भएको पहिरनले पनि स्तनको साइज फरक फरक देखाउँछ । यदि स्तनको आकार निकै सानो छ या दुब्लो भएर लुगा मिलिरहेको छैन भने यस्तो अवस्थामा फमब्रा लगाउन पर्छ । ब्रा ज्यादै खुकुलो,कसिलो र तन्केर जिउमा अमिल्दो भएको नलगाउनु होस् । ६.उपचार : हामीले स्तनको जतन गर्दागर्दै पनि यसको सौन्दर्य गुमायौँ या ज्यादै सानो र ठूलो भएर लत्रिएको छ भने उपचार पनि अवश्य छ । यस्तो उपचारले पक्कै तपाईंलाई सन्तुष्टि दिन्छ दिदैन,सकरात्मक असर गर्छ गर्दैन भन्ने बुझेर मात्र गर्नुहोला । उपचार भन्दैमा विज्ञापन गरिएका प्रचारमुखी महंगो सामानको पछि नलाग्नु होला । उपचारका केही विधि र शल्यक्रिया समेत हुने गर्छन् । सर्जरी गरेर पनि स्तन टाइट बनाउन सकिन्छ । जुनसुकै विधि अपनाउनु पुर्व चिकित्सकसँग परामर्श लिई अौषधी उपचार गर्न सकिन्छ ।
nirukcashru@gmail.com,
Leave a Reply
You must be logged in to post a comment.