प्रहरी, सेना लगायत सुरक्षाकर्मीलाई कोरोना संक्रमणको जोखिम र समाधान – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

१४ श्रावण २०७७, बुधबार

हालसम्म नेपाल प्रहरीमा एसपी सहित १८४ जना संक्रमितको पहिचान भएको छ | प्रहरी हेड क्वाटर र स्याङ्जामा धेरै प्रहरी संक्रमित पाइएको छ | कोरोना संक्रमणको महामारीको समयमा प्रहरी, सेना, उद्योगमा काम गर्ने मजदुर तथा स्वास्थ्यकर्मी धेरै सचेत हुनु जरुरी छ |
सुरक्षाकर्मीहरु पहिलेजस्तै समुहमा मार्निंग वाक गर्ने, गस्तीमा निस्कने, समुहमा खाना खाने तथा समुहमा बस्ने गरेका छन् | जनस्वास्थ्यको दृष्टिकोणले यो अभ्यास असुरक्षित मानिन्छ | महामारीको समयमा सुरक्षाकर्मीले अनिबार्य र सहि तरिकाले मास्क लगाउने, कम्तीमा पनि ६ फिटको दुरी अनिबार्य पालना गर्ने, मेसमा तथा क्वाटरमा दुरीको अनिवार्यता लागु गर्ने तथा सामान्य लक्षण देखिएका सुरक्षाकर्मीलाई तुरुन्त छुट्टै ठाउँमा राखेर परीक्षणको ब्यबस्था मिलाउन जरुरी छ |
सुरक्षा फौजले अत्यन्तै नजिकबाट चेकजाँच गर्ने, विवरण लिने, सोधपुछ गर्ने, शंकास्पद व्यक्ति वा समुहलाई भ्यानमा राखेर प्रहरी कार्यालय वा अदालत लैजाने, लाइसेन्स / ब्लु बुक / परिचय पत्र चेक गर्ने, मापसे चेक गर्ने जस्ता काम गर्दा व्यक्तिगत दुरी कायम गर्न निकै अप्ठ्यारो छ | बादबिबाद गर्दा चर्को स्वरमा बोल्नुपर्ने र चर्को स्वरमा बोल्दा संक्रमितको मुखबाट धेरै भाइरस बाहिर निस्किने हुन्छ | यसले गर्दा सुरक्षाकर्मी संक्रमित हुने सम्भावना धेरै हुन्छ |
संक्रमित सुरक्षाकर्मीले संगै गस्ती गर्ने, ब्यायाम गर्ने, खाना खाने तथा सुत्ने ठाउँमा अन्य सुरक्षाकर्मीलाई संक्रमण सार्ने सम्भावना अत्यधिक हुन्छ | त्यस्तै संक्रमित सुरक्षाकर्मीले आफ्ना सेवाग्राही नागरिक तथा चेकजाँच गर्ने व्यक्तिलाई समेत संक्रमण सार्ने ठूलो सम्भावना हुन्छ |
सुरक्षाकर्मीलाई बचाउनको लागि उल्लेखित उपाय अबलम्बन गर्नु जरुरी छ |
१. महामारीको समयभर सामुहिक मर्निंग वाक वा ब्यायाम नगर्ने | चौरमा घटीमा ६ फिटको दुरी कायम गरेर व्यायाम गर्ने |
२. मेसमा खाना पकाउने तथा भाँडा सफा गर्ने व्यक्तिको निरन्तर स्वास्थ्य परीक्षण गर्ने | खाना खाँदा न्युनतम ६ फिटको दुरी कायम गर्ने |
३. सवारी चलाउने सुरक्षाकर्मीको पिसिआर परीक्षण समय समयमा गर्ने |
४. सोधपुछ तथा खानतलासी गर्दा सहि तरिकाले गुणस्तरीय मास्क, चस्मा, पंजा अनिबार्य लगाउने | चेकजाँच तथा केरकार गर्ने सुरक्षाकर्मीले PPE लगाउने | सुरक्षाकर्मीलाई सुरक्षा सामग्री पर्याप्त उपलब्ध गराउने |
५. हरेक बस्तु छोएपछि साबुनपानीले हात धुने वा गुणस्तरीय ह्याण्ड स्यानिटाइजरले हात सफा गरिरहने |
६. हरेक अवस्थामा दुरीको ख्याल गर्ने |
७. सकभर भेन्टिलेसन भएको खुला ठाउँमा बस्ने, काम गर्ने |
८. सामुहिक बसाइलाई ब्यबस्थित बनाउने | एउटा बेडदेखि अर्को बेडको दुरी २ मिटरभन्दा टाढा राख्ने |
९. पर्याप्त र सफा सौचालयको प्रबन्ध गर्ने |
१०. ५० बर्ष नाघेका, दीर्घ औषधिसेवी, गर्भवती तथा सुत्केरी सुरक्षाकर्मीलाई जनसम्पर्कको काममा नखटाउने | अफिसियल काममा खटाउने |
११. सुर्ती सेवनमा प्रतिबन्ध लगाउने | सुर्ती सेवन गर्दा हातमा भाइरस भएमा सिधै मुखमा जाने डर हुन्छ |
१२. सकभर एउटा कोठामा धेरै जना नसुत्ने | यसको लागि टेन्ट, टहरा वा अन्य संरचना उपयोग गर्ने |
सुरक्षाकर्मीको नागरिकसंग नजिकको सम्बन्ध हुन्छ | तसर्थ सुरक्षाकर्मी संक्रमित भएमा नागरिकमा संक्रमण फैलिने तथा नागरिक संक्रमण भएमा सुरक्षाकर्मीलाई संक्रमण सर्ने हुन्छ | यो विषम परिस्थितिमा सुरक्षाकर्मीको मनोबल बढाउने, सुरक्षा सामग्री उपलब्ध गराउने तथा समयसमयमा परामर्श दिने ब्यबस्था गर्नु जरुरी छ |

Leave a Reply