मकवानपुरको झरना साहित्यिक परिवारलाई हेमराज पहारी स्मृति पुरस्कार प्रदान

१८ फाल्गुन २०७७, मंगलवार

हेटौंडा । पोखरामा स्थापित हेमराज पहारी स्मृति पुरस्कार बकैया मकवानपुरको झरना साहित्यिक परिवारलाई प्रदान गरिएको छ । हेमराज पहारीको स्मृति दिवसको अवसरमा सोमबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले पछिल्लो समयमा साहित्यप्रति युवा पुस्ताको रुचि हराउँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले सुस्ताउने क्रममा रहेको नेपाली साहित्यलाई सुस्ताउन नदिन युवा पुस्ता जागरुक हुन आवश्यक रहेको स्पष्ट पारे ।
कला, साहित्य र संस्कृति देशको पहिचान भएको भन्दै यस्ता साहित्यिक कार्यक्रमले निकै ठूलो महत्व राख्ने मुख्यमन्त्री पौडेलले बताए ।
साझा प्रकाशनका महाप्रवन्धक होम गौतमले नेपालको कला, साहित्य, संस्कृति र संस्कारको संरक्षणका लागि साझा प्रकाशनले ध्यान दिने बताए । साझा प्रकाशन भित्रको समस्यालाई चिरेर सबैको साझा संस्था बनाउन आफू लागि परेको भन्दै उनले संस्थाभित्र कुनै किसिमको अनियमितता, विकृति विसंगति हुन नदिने प्रतिवद्धता जनाए ।
अग्रज साहित्यकारहरु निमेष निखिल, तुलसी थापा र आरआर चौलागाइँले पोखराको संस्थाले मकवानपुरको संस्थालाई सम्मान गर्नु आफैमा ऐतिहासिक काम भएको बताए । एक संस्थाले अर्को संस्थालाई सम्मान गर्नु नेपाली वाङमयको क्षेत्रमा निकै नमूना काम भएको भन्दै उनीहरुले हेमराज पहारी स्मृति प्रतिष्ठानको कार्यको प्रशंसा गरे ।
झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले आफ्नो संस्था पुरस्कार प्राप्त गर्न लायक भएको भन्दै खुशी व्यक्त गरे । यो पुरस्कार संस्थाका लागि निकै महत्वपूर्ण हुने उनले दावी गरे ।
प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी सदस्य एवं पुरस्कार छनोट समितिका संयोजक हरिदेवी कोइरालाले स्वागत, सदस्य अनिल पौडेल र साहित्यकार लक्ष्मी निरौलाले प्रतिष्ठान र हेमराज पहारीको बारेमा जानकारी र कवि जयन्ता पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
उक्त अवसरमा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेश मोहन अधिकारी र निवर्तमान अध्यक्ष उद्धव सापकोटालाई सम्मान गरिएको थियो ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार यसअघि शताब्दी पुरुष सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद्, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिएको थियो ।

Leave a Reply