सय वर्ष अघिदेखिको इतिहासलाई निरन्तरता दिदै पूजा

९ बैशाख २०७८, बिहीबार

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ कालिका नगरस्थित ऐतिहासिक धार्मिक पर्यटकीय तीर्थस्थल कालिका मन्दिरमा सय वर्ष अघिको इतिहासलाई निरन्तरता दिदै चैते दशैं विशेष पूजा गरिएको छ ।
सय वर्ष अघि समाजसेवी स्व.भीमबहादुर बस्नेतको सकृयतामा स्थानीयवासीको सुख, शान्ति र समृद्धिको कामना सहित स्थापित मन्दिरलाई त्यस यता समाजका हरेक व्यक्ति, संघ संस्था एवम् समूहको साझा प्रयासमा व्यवस्थित गर्दै पूजाआजालाई निरन्तरता दिदै आइएको छ ।
मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष(बडा दशैं) का साथै चैते दशैंमा विशेष पूजाआजा गर्ने गरिएको स्थानीय बुद्धिजीवि विष्णुबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सय वर्ष अघिदेखिको इतिहास र परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि चैते दशैंका अवसरमा मन्दिरमा विशेष पूजाआजा गरिएको बताउँदै उहाँले उक्त पूजामा पोखरा–३२ सहित आसपासका भक्तजनहरू उपस्थिति रहेको जानकारी दिनुभयो ।
मनोकामना पूरा हुने जनविश्वासका कारण कालिका मन्दिरको आस्था र विश्वास दिनानुदिन बढीरहेको बताउँदै उहाँले यसको समग्र विकासका लागि स्थानीय संघ संस्था, क्लब, आमा समूह एवम् स्थानीय तहको साझा प्रयास आवश्यक हुने बताउनुभयो ।
पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालबाट करिब तीन सय मिटर उचाइमा रहेको कालिका मन्दिरलाई यस क्षेत्रको आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयवासी बताउँछन् । प्रगतिशिल सामूदायिक बन क्षेत्र अन्तर्गत उत्तरी भेगमा रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा भाकल पूजा सहित आउनेको क्रम पनि बढ्दै गएको छ ।

Leave a Reply