पत्रकार तथा लेखक न्यौपानेले ल्याए  ‘दास प्रथाको नयाँ रुप’

१२ बैशाख २०७८, आईतवार

पाेखरा । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौँ कृति दास प्रथाको नयाँ ‘रुप’ बजारमा आएको छ ।
सिन्धुपाल्चाेक जिल्ला सुनकोशी गाउँपालिका,ठाेकर्पाका न्याैपानेकाे साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छे माथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ ।  बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले जानकारी दिए । ‘मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले खेप्नुपरेको समस्यामा केन्द्रित भएर पुस्तक लेखेको हुँ”, लेखक न्यौपानेले भने, “झण्डै आठ वर्षको अनुसन्धान हो यो ।”

पुस्तकमा विभिन्न १६ वटा क्षेत्रमा काम गर्ने श्रमिकको कथा समेटिएका छन् । घरेलु मजदुर, होटल मजदुर, कलकारखाना, सडक, यातायात, भारी बोक्ने, खानी, इटा भट्टा, मनोरञ्जन क्षेत्र, गलैँचा बुन्ने, जरी बुन्नेलगायत विभिन्न क्षेत्रका प्रतिनिधि घटना पुस्तकमा समेटिएका छन् । पुस्तक पाँच भागमा विभाजन गरिएको छ । पहिला भागमा विषयको उठान गरिएको छ ।

दोस्रो भागमा दासताको जञ्जिरबाट उम्किएकाको कथा छ । तेस्रो भागमा बालदासताविरुद्ध सङ्गठित रुपमा आवाज उठाइएका विषय छन् । यो भागमा दोलखा कहानी, कर्णाली कहानी, पोखरा कहानी, चितवन कहानी, सिन्धुपाल्चोक कहानी, भक्तपुर कहानी, काठमाडौं कहानी, भोजपुर कहानी, मोरङ कहानी, झापा कहानी, काभ्रे कहानी समेटिएका छन् । यो भागमा विभिन्न जिल्लामा बालश्रमको अवस्था कस्तो छ, त्यसलाई हटाउन के कस्ता आवाज उठाइएलगायत विषय समेटिएको लेखक न्यौपानेले जानकारी दिए ।

चौथो भागमा काँचो माटोमा घोटिएका काचा माटा नाम दिएर इँटा भट्टका कहानी केलाइएका छन् । यसमा बाबुको बिहेको ऋण तिर्न भट्टामा श्रम गर्नेदेखि बाबुले छाडेर गएको ऋणको भारी तिर्न श्रम गर्ने टुहुरा बच्चासम्मको मार्मिक कहानी समेटिएको छ । पाँचौँ भागमा विषयको बैठान नाम दिएर निष्कर्ष निकालिएको छ । यसमा बालश्रमिकको अवस्था कस्तो छ भनेर नेपालदेखि विश्वसम्मका तथ्याङ्क पेश गरिएको छ । अन्तिममा हामी मान्छे हौ मान्छेतिरै फर्कौ भन्ने आग्रह गरिएको छ ।

लेखक न्यौपानेका अनुसार यो पुस्तकमा बाहिर सभ्य देखिने तर भित्र सडेका मान्छेको व्यवहारले सिर्जना गरेका दुष्परिणामका कहानी समेटिएका छन् । “सभ्य देखिने तर असभ्य व्यहार गर्ने मान्छेको हितका लागि काम गर्न बाध्य कलिला आधुनिक दासहरुको कहानी हो दास प्रथाको नयाँ रुप”, न्यौपानेले भने, “सहरमा ठडिएका ठूला महल, मनोरन्जन केन्द्र, होटल रेष्टुरा, सडक, जरी उद्योग, गलैचा कारखाना, यातायात, इटा भट्टालगाएत क्षेत्रमा आफ्ना सपना खोजिरहेका भोलीका कर्णधार साना हातले गरेका अनेक सङ्घर्ष र सपनाको कथा हो दास प्रथाको नयाँ रुप ।” न्यौपानेका एम्बुसमा छ वर्ष, कर्म,सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, हाडको डोको, स्कुल बेच्ने बालक, स्वर्णिम समय, सम्पदा लडाइँलगायत पुस्तक प्रकाशित छन् ।

Leave a Reply