भरतपोखरीमा पानी माग्दै सामूहिक पूजा

२० बैशाख २०७८, सोमबार

पोखरा ।लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ ।
स्थानीय सिलिङ्गे चेतना महिला समूहको प्रमुख सङ्कल्पमा यहाँका साविक भरतपोखरी गा.वि.स.का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी सचिव सीता केसी महतले जानकारी दिनुभयो । परापूर्व कालदेखि लामो समय खडेरी परेमा यहाँका यी शक्तिपीठहरूमा सामूहिक पूजाआजा, भजनकीर्तन सहित पानी माग्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । पूजाआजा सहित पानी मागेका अवस्थामा न्युनत एक हप्ता भित्रमा पानी पर्ने गरेको जनविश्वास कायमै रहेको छ ।

सामूहिक पूजाकै अवसर पारी स्थानीय विष्णु पौडेलले आफ्नी छोरी स्व. आरती पौडेलको स्मृतिमा चण्डी देउराली मन्दिरमा घण्टी प्रदान गर्नुभएको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो । लामो समयदेखि पानी नपरेका कारण खेतबारी लगाइएको मकै लगायत अन्य तरकारी बाली सुक्न थालेपछि कृषकहरू समस्यामा परेका छन् ।

खडेरीकै कारण वरपरका प्राकृतिक जलाशयमा समेत पानी सुक्दै जाँदा दैनिकी सञ्चालनमा समेत समस्या परेको स्थानीयको दुःखेसो छ । यहाँका कोटभैरव, चण्डी देउराली लगायतका शक्तिपीठको अस्तित्व नेपालका वाइसे चौवीसे राजाका पालादेखि नै भएको मानिने भएकोले सामाूहिक पूजाआजा सहित पानी माग्ने प्रचलन पनि त्यही समयदेखि नै भएको हुनसक्ने बुढापाका बताउँछन् ।

Leave a Reply