पाल्पामा सञ्चारिका समुह गठन, अध्यक्षमा थापा र महासचिवमा डोटेल

३१ श्रावण २०७८, आईतवार

 

पाेखरा।  शनिवार पाल्पामा बसेको महिला सञ्चारकर्मीहरूको भेलाले  बिन्दु थापाको अध्यक्षतामा १५ सदस्यीय सञ्चारिका समूह पाल्पा जिल्ला समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा रमा भण्डारी, महासचिवमा सीता डोटेल, सचिवमा सविना थापा, कोषाध्यक्षमा जमुना पाण्डे चयन हुनुभएको छ। यस्तै समितिको सदस्यहरूमा अनु खनाल, सीमा भट्टराई, बन्दना पोखरेल, मीना कुमाल, सुमित्रा कँडेल, अन्जु पाण्डे, कल्पना भट्टराई, रीता पचभैया, शर्मिला थापा र सरस्वती दङ्गाल चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै सञ्चारिका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले नबगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले धेरै महिला सञ्चारकर्मी एफएम रेडियो र टेलिभिजनमा प्राविधिकको जिम्मेवारी र साङ्गीतिक कार्यक्रममा सिमित रहेको बताउदै पत्रकारितामा लेख्न र बोल्न खोज्ने पत्रकारलाई सन्चारमाध्यमका व्यबस्थापकले वातावरण बनाइदिनुपर्ने बताउनुभयो । सम्बन्धित सञ्चार माध्यमका व्यवस्थापकले समाचार लेख्न, गहन बिषयमा बहस गर्न चाहने महिला सञ्चारकर्मीलाई तालिम सहित अवसर दिनुपर्ने उहाँको भनाई थियो । महिला भएकै कारण अवसरबाट बञ्चित गर्ने र पारिश्रमिकमा विभेद गर्न नहुनेमा अनमोलले जोड दिनुभयो ।
जिल्लामा गठित सन्चारिका समुहको कार्यसमितिलाई सहभागी आधा दर्जन बढीले बधाई तथा शुभकामना दिनुभएको थियो । अधिकार प्राप्तिका लागि महिला पत्रकार एकजुट हुन सुझाएका थिए ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्माले पत्रकार महिला पत्रकारितामा टिक्न सकिरहेका छैनन्। यसको कारण खोजेर उनीहरूलाई मिडियाको मूलधारमा टिकाइ राख्न महासंघले भूमिका निर्वाह गर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगलले मोफसलका सञ्चार माध्यममा दक्ष जनशक्तिको अभाव भएको बताउनुभयो । क्षमता भएका र काम गर्नेलाई मिडियाको खाँचो नभएको उहाँले बताउनुभयो ।
स्वतन्त्र पत्रकार महासंघ केन्द्रीय महासचिव जीवलाल सुवेदीले विवाह पश्चात महिलालाई पत्रकारिता गरिरहन समस्या भएको यथार्थता झल्काउदै पत्रकारिताबाट महिलाले समाज रुपान्तरण गर्न सक्छन् त्यसैले क्षमतावान महिला पत्रकारलाई पत्रकारिता पेशामा टिकाइ राख्न समाज तथा परिवारलाई सचेतीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
पत्रकार जगदीश भट्टराईले मिडियामा काम गर्ने पत्रकारले यो वा त्यो बाहानामा नेपाल पत्रकार महासंघको सदस्यता पाउन नसकेको बताउनुभयो । नेता पत्रकारभन्दा मिडियामा काम गर्ने पत्रकारलाई सदस्यता दिनुपर्नेमा उहाँको जोड थियो ।
लायन्स क्लब अफ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपेको बताउनुभयो । गुणस्तरीय, विश्वसनीय र खोजमूलक समाचार प्रकाशन तथा प्रशारणमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रोटरी क्लब अफ पाल्पा तानसेनका अध्यक्ष शैलेन्द्र भट्टराई, लायन्स क्लब अफ श्रीनगरका अध्यक्ष यादवसिंह कार्की, पाल्पा उद्योग वाणिज्य संघअन्तर्गत उद्योग महिला संयोजक रञ्जना अर्याल, पाल्पा व्यापार संघका  सदस्य अम्बिका तिमिल्सेनाले समाचारमा निष्पक्षता हुनुपर्ने बताउनुभयो ।
नवगठित सञ्चारिका समूह पाल्पाका अध्यक्ष बिन्दु थापाले संस्थाले पाल्पाका पत्रकार महिलाको हकहितका बारेमा काम गर्ने बताउनुभयो । साथै उनीहरुलाई दक्ष बनाउन विभिन्न तालिम सञ्चालन गर्ने बताउनुभयो । समाजमा लैङ्गिक समता स्थापित गर्न, महिलाका मुद्दा मिडियामा ल्याउन तथा लैङ्गिकमैत्री निति कार्यान्वयन गर्न गराउन यसले मद्धत पुग्ने बताउनुभयो ।

संचार क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भएपनि पाल्पामा पत्रकार महिला आबद्द सस्था सन्चारिका समुह स्थापना हुन सकेको थिएन ।
सन्चारिका समुह पाल्पाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

Leave a Reply