गण्डकीका मिडियाले भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध छ :मन्त्री थापा

२८ पुष २०७८, बुधबार

 

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले गण्डकीका मिडियाले भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघको आयोजना र पत्रकार महासंघ कास्कीको संयोजनमा बुधबारदेखि पोखरामा सुरु भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री थापाले  पोखरा लगायत गण्डकी प्रदेशमा संचालनमा रहेका मिडियाहरुले दर्ता, नवीकरणका विषयमा भोग्नुपरेका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

 

मन्त्री थापाले पत्रकारिता क्षेत्रका लागि अहिलेको सरकार सकारात्मक रहेको स्पष्ट पारे ।

उनले मिडिया विधेयक पत्रकारको हित बमोजिम नै आउने र  विधेयकका विषयमा धेरै शंका नगर्न आग्रह गरे ।

आम संचार विधेयक अहिले विचाराधिन अवस्थामा रहेको र विद्यायन समितिमा छलफलकै क्रममा रहेको मन्त्री थापाले जानकारी गराए । पत्रकारिता जगतका विज्ञहरुलाई राखेर मिडियामैत्री कानून निर्माण गर्ने पक्षमा आफू रहेको उनको भनाइ   छ ।

‘विद्यायन समितिका सभापतिसँग मिडिया विधेयकका बारेमा पटकपटक छलफल भइरहेको छ । बालबालिकाको विधेयक अहिले छलफलमा रहेछ र यसपछि आमसंचार विधेयकलाई अगाडि बढाउने प्रक्रियामा हामी छौं’, उनले भने ।

आमसञ्चार विधेयक समयानूकुल पास गरिसकेपछि प्रेस रजिष्टारको कार्यालय पोखरामा रहने र प्रेस रजिष्टारको नियुक्तिका विषयमा पनि देखिएका विवादलाई संबोधन गर्ने गरी मिडिया विधेयक ल्याइने मन्त्री थापाले बताए ।

लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढंगबाट वितरण गर्ने गरी सञ्चार मन्त्रालय अगाडि बढेको उनले बताए । मन्त्री थापाले मन्त्रालयका लागि विनियोजित भएको बजेटलाई सदुपयोग गर्ने गरी आफू लागिरहेको उल्लेख गरे ।

‘मन्त्रीको रुपमा कार्यभार सम्हालिसकेपछि सम्झन योग्य काम गर्ने पक्षमा म छु । मेरो मन्त्रालयमा विनियोजित भएको बजेटलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने जिम्मेबारीका साथ अगाडि बढीरहेको छु । अब छिट्टै रिजल्ट पाउनुहुनेछ’, उनले भने ।

मन्त्रालयमा आफूहरु यत्तिकै नबसेको र जागिर मात्र नखाएको अभिव्यक्ति उनको छ । पत्रकारिताको मर्यादा भित्र रहेर काम गर्न पत्रकारलाई मन्त्री थापाको आग्रह छ ।

पत्रकारिता क्षेत्रबाट पनि विकृति विसंगति मौलाएको भन्दै उनले यसको संरक्षणमा सम्बद्ध संस्था लाग्नुपर्ने उल्लेख गरे । कसैको व्यक्तिगत प्रतिष्ठालाई नै भंग गर्ने गरी आधारहीन र एक पक्ष समाचार लेख्न पत्रकारलाई छुट नभएको उनले बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितालाई समाजसँग जोड्न आवश्यक रहेको बताए । जनतासँग नजोडिएको पत्रकारिताको काम नभएको उनको भनाइ छ ।

झाले हालको नेपाली पत्रकारितालाई नेपाली समाज र जनतासँग जोड्न नसकिएको बताए । उनले मिडियाकर्मी र मिडिया जिम्मेबार हुनुपर्ने आवश्यकतालाई औंल्याए ।

झाले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताए । उनले कताकता पत्रकारिता गर्ने व्यक्ति र संस्था नै थाकेको आभाष भएको उल्लेख गरे ।

पत्रकारिता क्षेत्रमा नयाँ जनशक्तिको खोज गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । पत्रकारिता युनिर्भरसिटीहरुमा पढाई भएता पनि पत्रकारिता नै गर्ने गरी नयाँ पुस्ता नआएको भनाई उनको छ ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा   भएको कार्यक्रममा प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ केन्द्रकी सदस्य सरिता तिमिसिना पगेनी,  पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ केन्द्रका पूर्वउपाध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा ४० जना प्रशिक्षार्थी सहभागी छन् । तालिम आगामी माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

Leave a Reply