टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न

१९ बैशाख २०७९, सोमबार

पोखरा ।  ट्रेकिङ इक्युपमेन्ट्स सप एशोसिएसन(टेसा) पोखराको २४ औं वार्षिक साधारणसभा पोखरा महानगरपालिका वडा नं २५ हेमजा सुइखेतस्थित रिभर भ्याली रिसोर्टमा आज सम्पन्न भएको छ ।
साधारणसभामा टेसा आवद्ध पर्यटन व्यवसायी, विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोना प्रभावित पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि तीनवटै तहका सरकारको सहयोगी भूमिका अपरिहार्य भएको बताउनुभयो । कोरोना प्रभावित पर्यटन व्यवसायमा कर्जा सहयोग लगायतका विषयमा बैङ्किग क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । पर्यटनको पूर्नजागरणका लागि पोखरा एडभान्चर मार्ट आवश्यक भएपनि त्यसलाई विभिन्न बाहनामा सार्न खोजिएको उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले पर्यटनको विकासमा पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि टेसाले आफ्ना तर्फबाट निरन्तर साथ र सहयोग गर्दै आएको बताउनुभयो । नो भ्याक्सिन नो टुरिजमको नारालाई प्रभावकारी रुपमा अघि सारेसँगै पर्यटन व्यवसायीले प्राथमिकताका साथ कोराना भ्याक्सिन लगाउन पाएको उहाँले स्मरण गर्नुभयो ।
टेसा पोखराका सचिव टीकाबहादुर लम्सालको सञ्चालन एवम् उपाध्यक्ष प्रमोद भण्डारीले स्वागत गर्नुभएको साधारणसभाको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

Leave a Reply