पोखरा–२० मा बाटो स्तोरन्नोतीसँगै पर्यटकीय क्षेत्रको विकास गर्छौं : धनराज

२७ बैशाख २०७९, मंगलवार

 

पोखरा । पोखरा महानगरपालिकाका मेयर उम्मेदवार धनराज आचार्यले पोखरा–२० मौजाको मुख्य आवश्यकता नै सडक रहेको बताएका छन् । पोखरा–२० मा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मौजा आँटिघर लगायत गाउँको मुख्य माग नै सडक रहेकाले त्यसको सम्बोधन आफूहरुले गर्ने बताए । आफु निर्वाचित भएमा सडक स्तरोन्नती गर्दै त्यहाँको पर्यटकीय क्षेत्रको विकास गर्ने मेयरका उम्मेदवार आचार्यले प्रतिबद्धता जनाए ।

 

गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार आचार्यले पहिले सडकको विकास भएमात्र अन्य क्षेत्रले गति लिने उनको भनाई थियो । ‘गाउँमा राम्रो बाटो पुगे अरु विकास त्यसै हुन्छ’ उनले भने,‘बाटो आएपछि यहाँ कृषि पकेट क्षेत्र बनाउन सकिन्छ । बेसार होला, अदुवा होला या अन्य कुनै जसले बजारसम्म पुग्ने अवसर पाओस । जसका लागि सडक बन्न आवस्यक छ’–उनले भने । उनले गाउँभेगको जीवन असुविधालाई सुविधामा बदल्न सकेमा आयु समेत बढ्ने उनको भनाई छ । अर्गानिक खाना खान पाउने हुँदा सहर भन्दा गाउँको विकास गर्न आवस्यक रहेको सुनाए । उनले यो वडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके आर्थिक उन्नतीमा समेत ठुलो राहत पुग्ने उनले बताए । गाउँमा निशुल्क वाईफाईको समेत व्यवस्था गरिदिए संचारमा ठुलो राहत पुग्नेमा आफु आशावादी रहेको सुनाए । होमस्टे बनाएर प्रचार प्रसार गरी पर्यटक तान्ने किसिमका काम गर्ने योजना समेत सोचेको उनले बताए ।

 

गाउँघरमा ढाकाटोपी, लगायत पोशाक समेत बनाउन सक्ने हुदाँ उत्पादनलाई जोडदिनुपर्ने धारणा राखे । उनले एमालेले निर्वाचन जिते देशको राजनीति अझै २० वर्ष पछि धकेलिने र जसका कारण विकासका काम पनि धकेलिने उनले बताउँदै गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले पोखराको विकासलाई ३ क्षेत्रमा विभाजन गरि अघि बढ्ने बताए ।

 

पोखरा–२० आँटीघर मौजामा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पोखरा–२० पर्यटकीय सम्भावना बोकेको वडा रहेको बताईन् । उनले पोखरा आफैमा पर्यटकीय क्षेत्र रहेपनि पोखरा २० लाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने बताइन् । उनले पोखरा–२० मौजा आँटीघरमा होमस्टे संचालन गरेर पोखरामा पर्यटकीय बसाई लम्बाउने सकिने उल्लेख गरिन् । महानगरभित्रै रहेपनि विकट वडाको रुपमा रहेको मौजामा विकासका आयोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले उपचारका लागि समेत १ घण्टा लगाएर जान पर्ने बाध्यता रहेको र त्यसको न्युनिकरण गर्नका लागि वडामै २५ शैय्याको अस्पताल बनाउने वडाको घोषणापत्रलाई महानगरकै घोषणा पत्रको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

 

‘२० नम्बर वडाको मौजा महानगरपालिकाको विकट वडा भनेर चिनिने गरेको छ । यस्तै वडा महानगरमा धेरै रहेका छन् । यी वडा विकासको दृष्टिकोणले आफु महागनरबासी भएको गर्व गर्ने अवस्था नै छैन’ उनले भनिन्,‘यो वडामा दलितहरुको धेरै समस्या छन् । यहाँका बाटोहरुको स्तरोन्नती गर्न आवस्यक छ । अहिलेको समयअनुसार अहिलेका सामुदायिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा लैजान पर्छ भन्ने हो ।’ वडाले जस्तो विकास तथा योजनाहरु ल्याए सोहि अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Leave a Reply